अखिल क्रान्तिकारी सिन्धुपाल्चोक सम्मेलनको तयारी पुरा

अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला सम्मेलनको तयारी पुरा भएको छ ।

५ माघ, सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले  ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्ला सम्मेलन गर्न लागेको संगठनका उपाध्यक्ष हरि पौडेलले जानकारी दिए । माघ ६ शनिबार सुरु हुने सम्मेलनको तयारी पुरा भएको उनको भनाई छ । जिल्लाको सदरमुकाम चौतारामा हुने सम्मेलनको नेकपा माओवादीका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्ने कार्यतालिका छ । शनिबार हुने यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षका लागि उपाध्यक्ष पौडेल सहित प्रविण चौलागाईं, दिपक दनुवार, सचिव सुवाश गौतम, सह सचिव निश्चल सञ्जेलले इच्छा जाहेर गरेका छन् ।
सम्मेलन तयारीका लागि आयोजक समितिको बैठकबाट ६ वटा विभागिय उपसमिति निर्माण गरी कार्यविभाजन गरेको र सोहिअनुसार सबै उपसमितिहरूले आ-आफ्नो जिम्मेवारी पुरा गरी सम्मेलनको तयारी सकेको पौडेलले बताए । उनका अनुसार विद्यार्थी संगठनहरुको सम्मेलनले संगठनको आगामी कार्यदिशा निर्माण गर्ने र नेतृत्वको विकास गर्ने गर्छ । पौडेलले भने, “हामीले यो सम्मेलनमार्फत विगतमा भएका गतिविधि समस्याहरूको समीक्षा गरि नयाँ नेतृत्वसहितको टिम निर्माण गरी आगामी दिनमा संगठनको योजना र कार्यक्रम तय गरि  विद्यार्थीमाझ जाने भन्ने नै हुन्छ ।” संगठनको मुख्य लक्ष्य राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँउदो र समाजवादी शिक्षा हुनु रहेको बताउँदै उनले विद्यालय तथा विश्वविद्यालय तहमा विभेदकारी  शिक्षापद्धतिको अन्त्य गरेर समान रुपमा शिक्षाको विकास र  शैक्षिक सुधारका लागि खबरदारी गरिने बताए ।

प्रतिक्रिया