अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा सञ्जेल

अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा निश्चल सञ्जेल चयन भएका छन् ।

६ माघ, सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा निश्चल सञ्जेल चयन भएका छन् । शनिबार चौतारामा भएको २० औं जिल्ला सम्मेलनले ६५ सदस्यीय समिति चुनेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ, कमल न्यौपाने, सचिवमा प्रल्हाद वि.क, सह सचिवमा  उमेश लामिछाने,  रुपा न्यौपाने,  हितबहादुर तामाङ र कोषाध्यक्षमा मञ्जु नेपाल सर्वसम्मत चयन भएका छन ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम्  नेकपा माओवादीका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटाले गरे । प्रमुख अतिथि सापकोटाले आजका विद्यार्थीलाई समयको वैज्ञानिक व्यवस्थापन गर्न सिक्न अनुरोध गरे ।देशलाई समाजवादमा लैजानलाई कृषि, उद्योगधन्दा, राष्ट्रिय सुरक्षा लगायतका पक्षलाई सबल बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, “नेतृत्व गर्न सक्ने क्षमता ज्ञानले पैदा गर्छ । मिहेनत र परिश्रमले मान्छे महान हुन्छ ।” राष्ट्रियताका लागि भएको घेराबन्दी भैइरहेको कारण सम्पुर्ण विद्यार्थीलाई खराब भन्दा खराब स्थितिका लागि राम्रो भन्दा राम्रो तयारी गर्न आग्रह गरे। विचार निर्माण भनेको देश निर्माण र समाजलाई अघि बढाउने मुख्य कुरा भएकाले  सबै भोली देश हाँक्ने विद्यार्थीले विचारमा परिवर्तन ल्याउनुपर्ने बताए ।

सम्मेलनमा विशेष अतिथि माधव सापकोटा सुबोधले हरेक नितिको नेतृत्व राजनीतिले गर्ने भएकाले राजनीतिक ज्ञान हरेक विद्यार्थीमा हुनु आवश्यक रहेको बताए । यो सम्मेलन राजनीतिक पाठशाला समेत रहेको उनले भने । सम्मेलनमा उपस्थित विद्यार्थीले सम्मेलनको उदेश्य के हो, संगठन के हो, संगठनले के गर्ने र संगठनका निर्णय कसरी कार्यान्वयन हुन्छन भन्ने विषयमा जानकारी राख्नुपर्ने बताए । 

संसदमा दर्ता भएको विद्यालय विधेयक संसोधनको विषयमा आफुले पहलकदमी लिईरहेको र त्यसको लागि सडकमै उत्रिन पनि पछि नपर्नेमा उनले जोड दिए । उच्च मनोबल लिएर अघि बढ्न आग्रह गर्दै उनले आफु सम्पुर्ण विद्यार्थीको पक्षमा रहेको बताए ।

यस्तै अर्का विशेष अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार तथा विकासमन्त्री युवराज दुलाल शरदले देशका लागि आजको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सोच्नुपर्ने बताए । उनले हिजोका विद्यार्थीले गरेको त्याग र बलिदानका कारण आज देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताए । उनले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई भोली देश हाँक्न सक्ने नेतृत्वलाई आज चयन गर्न अनुरोध समेत गरे ।

विशेष अतिथिका रुपमा आशनग्रहण गरेका अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पवन  कार्कीले सिन्धुपाल्चोक जिल्ला समितिले विद्यालयस्तरदेखि पालिकास्तरिय कमिटीहरु गठन गरेर २० औं सम्मेलन गर्ने पहिलो भएको र यसले केन्द्रिय समितिलाई समेत २३ औं सम्मेलनका लागि खबरदारी गरेको बताए । उनले अखिल क्रान्तिकारीभित्र सहिलाई सहि र गलतलाई गलत भन्ने दम सबै विद्यार्थीले राख्नुपर्नेमा जोड दिए । सम्मेलनमा जिल्लाको १२ वटै पालिकाका प्रतिनिधी विद्यार्थी तथा पार्टी नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया