पुराना आयोजना “कम्प्लिट” गर्न प्राथमिकता दिन्छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।

९ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भने, “वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन्। पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ।”अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे । प्रधानमन्त्रीले भने, “नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईहरू काम गर्नुस्। पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस्। यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला ।”

अनुगमनका क्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको बताउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए । एक्सन रूमको अनुगमनमा प्रधानमन्त्री र उर्जामन्त्रीसँगै नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल लगायतका आयोजना प्रमुखहरू उपस्थित थिए ।

प्रतिक्रिया