निरीले गर्यो फोक्सो स्वास्थ्य सचेतना कार्यक्रम

नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी)ले फोक्सो स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।

१३ माघ, काठमाडौं । नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी)ले फोक्सो स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । युरोपेली लङ फाउण्डेशनको सहकार्यमा शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुदाबगर आदर्श कलेजमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका वारविक विश्वविद्यालयका का प्राध्यापक डा. परमजीत गिलले  फोक्सो स्वास्थ्यको महत्व र फोक्सोको स्वास्थ्य समस्याका कारणबारे बताए। न्यून आय भएका मुलुकमा नीति निर्माणका लागि स्वास्थ्य अनुसन्धानको महत्त्वमा उनले जोड दिए। निरीका प्राकृतिक तथा व्यवहारिक  विज्ञान विभागका  निर्देशक डाक्टर ओमप्रकाश कुर्मीले फोक्सो रोगको विश्वव्यापी बोझ र यसका रोकथामका जनस्वास्थ्य उपायहरू प्रस्तुत गरे। उनले लुम्बिनीमा भैरहेको नेपाल फेमिली कोहोर्ट स्टडी एक दीर्घकालीन पारिवारिक कोहोर्ट अध्ययन भएको र यसले सबै बालबालिका र वयस्कमा हुने विभिन्न स्वास्थ्य निर्धारकहरू (विशेष गरी फोक्सोको स्वास्थ्य) अध्ययन गर्ने उद्देश्य राखेको बताए। निरी नेपालका प्रशासकीय अधिकृत तथा रिसर्च फेलो सुरज पराजुलीले फोक्सोको रोगको समस्या बहुक्षेत्रीय/बहुआयामिक भएकाले बहुक्षेत्रीय सहकार्यमा यसको रोकथामका लागि काम गर्नु अत्यन्त जरुरी रहेको बताए । समुदायमा व्यापक जनचेतना जगाउने र फोक्सोको रोग रोकथामका लागि स्थानीय निकायलाई अनुरोध गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर  कल्पना हरिजङले नेपालमा पहिलो पटक नेपाल फेमिली कोहोर्ट स्टडी सुरु गर्ने र फोक्सोको स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका पहिलो नगरपालिका भएकोमा आफुले गर्व गरेको बताइन ।

कार्यक्रममा विज्ञहरुबाट सचेतना सत्रका साथै सहभागी र अतिथिहरुको नि:शुल्क फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो । फोक्सोका विभिन्न प्रकारका रोग, तिनका जोखिम र लक्षणका बारेमा जनचेतना जगाउने र स्थानीय तहबाटै फोक्सोको रोगबाट बच्ने उपायहरू सहज बनाउने उद्देश्यले यो दिवस मनाइएको हो।

प्रतिक्रिया