आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन सहिदहरूले देखेका सपना र गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन सहिदहरूले देखेका सपना र गरेको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । सहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”
सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति वि.सं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने महान सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गरे । सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।”
प्रत्येक वर्ष सरकारले माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया