छुटेकालाई जग्गादर्ता गर्न सिन्धु मालपोतको आग्रह

जिल्ला मालपोत कार्यालयले जग्गा दर्ता गर्न छुटेकाको जग्गा दर्ताको लागि आग्रह गरेको छ ।

१९ माघ, सिन्धुपाल्चोक । जिल्ला मालपोत कार्यालयले जग्गा दर्ता गर्न छुटेकाको जग्गा दर्ताको लागि आग्रह गरेको छ । कार्यालयले बिहिबार प्रकाशन गरेको सुचनामा नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएको र गर्न चाहने जग्गावालालाई कार्यालयमा निवेदन दिन भनिएको छ ।
निवेदकले निवेदनको साथ साविक लगत, हकभोग प्रमाण, रैकर तर्फको लगतको फोटोकपी, २ नं रसिद (तिरोको निस्सा), १ नं अनुसूची, नाप–नक्सा भएकोमा नक्सा र फिल्डबुक उत्तार, सम्बन्धित गाउँपालिका र नगरपालिकाको किटानी सिफारिस, ७ नं फाँटवारीको प्रमाणित उतार (भूमि सुधार लागु हुँदा भरेको हदबन्दी सम्बन्धी फाराम), नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, जग्गाधनी मृतकको हकमा मृत्युदर्ताको प्रमाणपत्र, नामसारी दर्ता भए साविक रैकर लगत मौजा, नक्सा नं खुल्ने भोगचलन तथा हकदार खुलेको किटानी सिफारिस तथा अन्य आवश्यक कागजातहरु आवश्यक पर्ने सुचनामा भनिएको छ ।

सम्बन्धित जग्गावालाले निवेदन दिने र यस अघि नै निवेदन परी फछ्र्यौट हुन बाँकी निवेदन फछ्र्याैट गर्ने म्याद सूचना प्रकाशन भएको मितिले २ वर्ष तोकेको हुँदा आवश्यक कागजातहरु सहित निवेदन पेश गर्नुपर्ने प्रमुख मालपोत अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया