लिसंखुले निःशुल्क सीप विकास तालिम संचालन गर्ने

लिसंखुपाखर गाउँपालिकाले निःशुल्क सीप विकास तालिम संचालन गर्ने भएको छ ।

२४ माघ, सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले निःशुल्क सीप विकास तालिम संचालन गर्ने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा गाउँपालिकाले मखुण्डो/टुङ्ना र थाङ्का बनाउने प्रशिक्षण दिन लागेको हो । मंगलबार पालिकाले सुचना प्रकाशन गर्दै गाउँपालिका भित्रका तालिम लिन इच्छुक नागरिकहरुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । तालिममा सहभागी हुन इच्छुक पालिकाबासीले सूचना प्रकाशन भएको मितिले सात दिन अर्थात फागुन १ गते भित्र आवश्यक कागजात सहित निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेका शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकले तालिम लिन सक्नेछन् । थाङ्काको प्रशिक्षण २५ दिन र मखुण्डो तथा टुङ्नाको प्रशिक्षण १० दिनसम्म चल्ने छ । आफ्नो रुचि अनुसारको तालिम लिन चाहने लिसंखुबासीले विषय खुल्ने गरि लिखित निवेदनसहित नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ताको प्रतिलिपि र पासपोर्ट साईजका दुईप्रति फोटो पेश गर्नुपर्ने बताइएको छ ।

यसैबिच गाउँपालिकाले किसानहरुलाई ५ दिने किबी खेति सम्बन्धि प्रशिक्षण दिई सकेको छ । अध्यक्ष राजु लामाका अनुसार गत शुक्रबार सुरु भएको किबी खेति सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको हो ।

प्रतिक्रिया