३ फागुन, चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले तथ्य तथ्यांकमा आधारित जवाफदेहि र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिएका छन् । बिहीबारदेखि चितवनको सौराहामा सुरु पटकथा लेखन कार्याशाला तथा तथ्यांकमा आधारित पत्रकारिता तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ‘फास्टफूड पत्रकारिताको सट्टा डेटाबेस’ पत्रकारिता गर्न सुझाएका हुन् । ‘नेताहरु उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउने प्रवृत्ति बढेको छ, तथ्य तथ्यांकक आधारमा जवाफदेही र जिम्मेवार पत्रकारीता गर्नुहोस्’ उनले सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले नेपाली सिनेमा क्षेत्रमा दर्शकलाई जबर्जस्ति सिनेमा हेर भन्ने जस्तो अवस्था रहेको बताउँदै दर्शकको चाहना सिनेमामा आउनुपर्नेमा जोड दिए । उनले बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा अघि सारेको बताउँदै मातृभाषालाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रविधिको विकाससँगै आफूलाई रुपान्त्तरण गर्न कार्यालयले तालिम आयोजना गरेको बताए । उनले नक्कलमा भन्दा मौतिकतामा जोड दिन आग्रह गरे । मोबाइल, अनलाइन, डेटाबेस पत्रकारितामा कार्यालयले जोड दिएको जानकारी दिँदै ‘ब्रेनमा गरेको लगानी खेर नजाने’ बताए । मन्त्री श्रेष्ठ र रजिष्ट्रार सापकोटाले उत्कृष्ट हुने पटकथालाई प्रोत्साहन स्वरुप रु एकलाख सिड मनी दिइने जानकारी दिए । कार्यक्रममा दुबै विधाका गरी चालीस बढी प्रशिक्षार्थीको सहभागीता रहेको छ ।