बलेफी २ मा गर्भवती र सुत्केरीको घरमा निलो झण्डा ; फोटो फिचर

बलेफी गाउँपालिका वडा नम्बर २ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरी महिलाको घरमा निलो झण्डा राख्ने कामको सुरु भएको छ ।

८ फागुन, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर २ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरी महिलाको घरमा निलो झण्डा राख्ने कामको सुरु भएको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडाका ४५ घरधुरीमा निलो झण्डा राखिएको हो । उक्त झण्डामा गर्भवतीआमा, ६ महिना सम्मका स्तनपान गर्ने बच्चा, ६ महिना देखि २ बर्ष सम्मका बालबालिकाहरु देखिने लोगो छ । पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागी सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रम अन्तर्गत झण्डा राख्ने कामको सुरुवात गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गर्भवती र २ वर्षसम्मका सुत्केरी महिला सुनौला हजार दिनका आमा हुन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार समुदायमा सरकारी तथा गैरसरकारी संस्थाहरुले पोषण तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा सुनौला हजार दिने आमा र बच्चालाई प्राथमिकतामा परुन् भन्ने उदेश्यका साथ घर पहिचान कार्य सुरु गरिएको वडा नं २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकी इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन् । यसबाट पोषण, स्वास्थ्य तथा अन्य सेवाका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यक्रमका सामाजिक परिचालकलाई सुनौला हजार दिने आमाको घर पहिचान गर्न सजिलो हुने तथा आमा र बच्चा लाई पनि सहयोग पुग्ने उनको भनाई छ । उनले झण्डाले घर चिनाउने र घरको छानामा झण्डा राखेपछि आमा मात्र नभई घरपरिवारका अन्य सदस्यहरु पनि सचेत र सजक हुनुपर्ने बताइन् ।

प्रतिक्रिया