दोहोरो चरित्र देखाउने दलमाथि सांसद सापकोटाको आक्रोश

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सांसद माधव सापकोटाले दोहोरो चरित्र देखाउने दलमाथि आक्रोश ब्यक्त गरेका छन् ।

१३ फागुन, काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा सुवोधले दोहोरो चरित्र देखाउने दलमाथि आक्रोश ब्यक्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा संविधानअनुसार संघमा मन्त्री र प्रदेशमा सभामुख लिने फेरि संविधान र व्यवस्थाको विरोध गर्ने भनेर प्रतिपक्षलाई लक्षित गर्दै प्रश्न उठाएका हुन् ।
उनले संविधान र व्यवस्थाका बारेमा संसदमा हुने बहसबारे सभामुख देवराज घिमिरेले ध्यान दिनुपर्ने बताए ।

सांसद सापकोटाले संसदमा, “पाइहाले मन्त्री र प्रदेश सभामुख लिने, अनि संविधानको विरोध गर्ने ?” भन्दै प्रश्न उठाए ।
वर्तमान संविधान र व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादी हुन नसक्ने पनि सांसद सापकोटाको भनाइ थियो । “यो संसदमा यो संविधानका विरुद्धमा बेला बखतमा जसरी विरोध गरिराखिएको छ, हमला गरिराखिएको छ, यसलाई जसरी ध्वंश गर्न खोजिराखिएको छ, यसका बारेमा सचेत तुल्याइनुपर्छ । यहि संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने, लोगो लगाएर सारा सेवा, सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने, प्रदेशतिर गएर सभामुख पनि लिने तर फेरि यो संविधानलाई विरोध गर्ने?,” उनले भने, “यो संविधान र योव्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैनन् । यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकरको व्यवस्थाको बारेमा छलफल र बहस गर्न सकिन्छ भनेर यो संविधानले भन्छ । व्यवस्थाका बारेमा यो संसद्भित्र जे बहस हुने गरेको छ यसका बारेमा ध्यानाकर्षण गराउन चाहन्छु ।”सांसद सापकोटाले संविधानका सीमा र कमजोरी बारे बहस गर्ने छुट भएपनि संविधान र व्यवस्थाकै विरुद्ध दिइने अभिव्यक्तिबारे सभामुखले ध्यानाकर्षण गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया