नेदरल्यान्डमाथि नेपालको सानदार जित

टी-२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध सानदार जित हात पारेको छ ।

१९ फागुन, काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्यान्ड नेपालसँग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।  नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै एक सय २१ रनको लक्ष्य भेट्टाएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। गुल्सन झाले ३८ र ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले आठ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित चार र कुशल मल्लले अविजित दुई रन जोडे ।
नेदरल्यान्ड्सका लागि भने म्याक्स ओडोडले सर्वाधिक ३१ रन बनाए । बलिङमा नेपालका प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए । 
नेपालको यो सिरिजमा दोस्रो जित हो । जितसँगै नेपालले फाइनल पुगेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । दोस्रो जितसँगै चार खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ । तेस्रो स्थानमा रहेको नामिबियाको तीन खेलबाट दुई अङ्क छ । आइतबार नेदरल्यान्ड्स र नामिबियाको खेल हुनेछ । उक्त खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । 

प्रतिक्रिया