

२० फागुन, काठमाडौं । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै बक्यौता भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका किसानले हाललाई आन्दोलन स्थगन गर्ने भएका हुन् । सरकारले किसानको बक्यौता भुक्तानीको ज्ञारेण्टी पनि गरेको छ । केन्द्रीय दुग्ध सहकारी संघ नेपालले दुग्ध उत्पादक कृषकहरूले दूध बिक्री गरे बापत पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि आन्दोलनका कार्यक्रम गरिरहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लिमिटेड नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबिच किसानका माग पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो । सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै गत पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही आगामी चैत्र २१ सम्म गरिसक्ने भनिएको छ ।

त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ । दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने साथै दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवद्र्धन सम्बन्धी विषयहरू नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमतिमा उल्लेख छ । यसैगरी नेपाल सरकारले पशुपालक किसानहरूलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले राखेका अन्य मागहरू सम्बोधन गर्न पहल गर्ने सहमति समेत भएको छ ।

