त्रिकोणात्मक टी–२० आई सिरिज : नेपालले नेदरल्यान्डलाई दियो एक सय ८५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई एक सय ८५ रनको लक्ष्य दिएको छ ।

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्डलाई एक सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । नेपालका लागि आसिफ शेखले ४७ रन जोडे । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले २० जोडे । उनले १० बलमा १ चौका र २ छक्का ल्याए ।यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १ रन मात्र जोड्न सके।
कुशल मल्लले ११ बलमा २६ रन बनाए । उनले १७ औं ओभरमा लगातार ३ छक्का हाने ।करण केसी ४ बलमा ९ रन जोडेर आउट भए । अर्को ओभरको पहिलो बलमा गुल्सन झा ३४ रनमा आउट भए । उनले २५ बलमा ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा आरिफ शेख शून्यमा आउट हुँदा नेपालले तीन बलमा तीन विकेट र आठ बलमा चार विकेट गुमायो । त्यस्तै प्रतिश जिसी र सोमपाल कामी भने ६–६ रनमा नटआउट रहे ।
यसअघि नेपाल नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्डलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको थियो ।

प्रतिक्रिया