त्रिकोणात्मक टी–२० आई सिरिज : नेपाल ४ विकेटले पराजित

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्डले जितेको छ ।

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्डले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्डले नेपाललाई ४ विकेटले पराजित गर्यो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्डले खेल सकिन ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ४७ रन जोडे । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले २० जोडे । उनले १० बलमा १ चौका र २ छक्का ल्याए ।यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए । उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १ रन मात्र जोड्न सके। कुशल मल्लले ११ बलमा २६ रन बनाए । उनले १७ औं ओभरमा लगातार ३ छक्का हाने ।करण केसी ४ बलमा ९ रन जोडेर आउट भए । अर्को ओभरको पहिलो बलमा गुल्सन झा ३४ रनमा आउट भए । उनले २५ बलमा ३ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा आरिफ शेख शून्यमा आउट हुँदा नेपालले तीन बलमा तीन विकेट र आठ बलमा चार विकेट गुमायो । त्यस्तै प्रतिश जिसी र सोमपाल कामी भने ६–६ रनमा नटआउट रहे ।

प्रतिक्रिया