जसपाका दुई मन्त्रीले लिए सपथ

जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पार्टीको निर्णय अनुसार नयाँ गठबन्धनको सरकारमा जसपा पनि सहभागी भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आज आइतबार मन्त्रीको शपथ लिएका हुन्। यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नेता नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजावदी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्। गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन। यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। यादव उपप्रधानमन्त्री बनेसँगै ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। नेकपा (एमाले) का रघुवीर महासेठ, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछाने पनि उपप्रधानमन्त्री छन्। महासेठ भौतिक, श्रेष्ठ परराष्ट्र र लामिछाने गृहमन्त्री छन्। गत सोमबार नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएका थिए। सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन्।

प्रतिक्रिया