राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९, विपक्षमा १७ मत

संघीय संसदको माथिल्लो सदन भनेर चिनिएको राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

संघीय संसदको माथिल्लो सदन भनेर चिनिएको राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा बहुमत सांसदको समर्थनसहित निर्वाचित भएका हुन् ।

माओवादी नेता दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । जम्मा ५६ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरे । उनको विपक्षमा १७ मत पर्यो । जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन् । बैठकको प्रारम्भमा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई एमाले, एकीकृत समाजवादी र जसपाका सांसदले समर्थन गरेका थिए ।
राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । त्यसपछि नयाँ अध्यक्षको निर्वाचन भएको हो । नवनिर्वाचित अध्यक्ष दाहाल संविधानसभा सदस्य पनि हुन् । उनी यसअघि २०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभाका सदस्य थिए ।

प्रतिक्रिया