प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत, पक्षमा १५७, विपक्षमा ११०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनको पक्षमा १५७ र विपक्षमा ११० मत परेको थियो ।
पक्षमा बहुमत मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार संसद बैठकबाट विश्वासको मत लिए । विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरे।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद बैठकबाट विश्वासको मत लिएका थिए । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली काँग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आएका थिए ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । अहिले फेरि काँग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहेकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले उनलाई पक्षमा विश्वासको मत दिए । प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिए ।
यसअघि २०७९ पुस २६ गते लिनुभएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गरेका थिए । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उनको समर्थनमा मत दिएका थिए ।

प्रतिक्रिया