चौतारा नगरमा ‘पशु लिफ्टिङ मेसिन’ प्रयोग गरी उपचार

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले ठूला जनावरहरूलाई चिकित्सा जाँच, शल्यक्रिया र अन्य उपचार सहज बनाउने 'पशु लिफ्टिङ मेसिन' प्रयोग गरेर उपचार सुरु गरेको छ ।

९ चैत, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले ठूला जनावरहरूलाई चिकित्सा जाँच, शल्यक्रिया र अन्य उपचार सहज बनाउने ‘पशु लिफ्टिङ मेसिन’ प्रयोग गरेर उपचार सुरु गरेको छ ।

पशुपालनमा किसानलाई सहजिकरणको नीति लिएको नगरपालिकाले यस बर्षदेखि कार्यक्रम सञ्चालन गरेपछि किसान खुसी भएका छन् । नगरपालिकाको पशुसेवा शाखाले वडा नं ४ कुविण्डेका किसानको उठ्न नसकेर थला परेको गाईको उपचारमा मेसीनको प्रयोग गरेको हो । किसानलाई भेटेरिनरी उपचारमा सहयोगी सावित हुने मेसिन यसै बर्षबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका पशुसेवा शाखाले जनाएको छ ।

नगरपालिकाको वडा नं ४ स्थित कुविण्डेका किसान दुर्गा प्रसाद सापकोटाको घरमा पालिएको गाईको उपचारमा मेसीनको प्रयोग भएपछि नगरका अन्य किसानले पनि यो उपचार विधिबारे जानकारी पाएका छन् । ‘मेरो दैनिक २० लिटर दुध दिने जर्सी गाई बसेको थलाबाट उठ्न सकेन, पशु चिकित्सकलाई जानकारी गराएँ, नगर प्रमुख कृष्ण प्रसाद सापकोटासँगको कुराकानीमा नगरले पशु लिफ्टिङ मेसिन ल्याएको थाहा पाएँ, चिकित्सकले घरमै मेसिन ल्याएर उपचार गरिदिए’, कुविण्डे दुग्ध उत्पादक सहकारीका प्रशासन व्यवस्थापक समेत रहेका सापकोटाले भने । उनले सामाजिक सञ्जाल फेसबुमा गाईको उपचार गरिएको तस्बिर सहित चिकित्सकलाई धन्यवाद दिएका छन् ।

उनले थलाबाट उठ्न नसकेको गाई मेसिनको सहायतामा उठाइएपछि विस्तारै निको हुँदै गएको जानकारी दिए ।

नगरपालिकाले उपचार विधिबारे अरु वडाका किसानलाई जानकारी गराउने र किसानको आवश्यकता हेरेर मेसिनको संख्या बढाउनने कार्यक्रम तय गरेको छ । प्रसस्त दुध उत्पादन हुने चौतारा नगरले पहिलो पटक मेसिन प्रयोगमा ल्याएको भएपनि काठमाडौं चितवन वा काभ्रेपलान्चोक जिल्लाका लागि भने यो प्रविधि नयाँ होइन ।

‘पशु लिफ्टिङ मेसिन’को सहयोगमा पशुचिकित्सकहरूले आफूलाई वा जनावरहरूलाई चोटपटक लाग्ने खतरा बिना सुरक्षित रूपमा उपचार गर्न सक्दछन । विशेष गरी जनावरहरू घाइते वा  विरामी भएको र आफैं चल्न नसक्ने अवस्थामा यसले उठाउन, उपचार गर्न सहज हुन्छ । मेसीनको सहयोगमा आफ्नो खुट्टा नलाग्दा पनि पशुबस्तुलाई उभ्याइने भएकोले जनावरलाई थप हानि नहुने पशु चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया