एसईई परीक्षा आजदेखि

आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

१५ चैत, काठमाडौं । आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएको हो । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिए ।
एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान थियो तर यस वर्षदेखि भने विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
३५ प्रतिशतभन्दा कम अंक ल्याएका परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने छन । यो परिक्षा यही चैत २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया