महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

१६ चैत्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’’सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीले जोड दिए । सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताए । प्रधानमन्त्रीले भने, ‘‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ।’’

प्रतिक्रिया