सिन्धुपाल्चोकमा हावा हुरी र असिना, बालीनाली नष्ट

एक्कासी परेको ठूलो मात्राको असिना पानीले जनजीवन प्रभावित भएको छ । ठूलो आकारका असिना लामो समयसम्म परेपछि अन्नबाली, तरकारी र फलफूलका फूलमासमेत क्षती भएको छ ।

१७ चैत, चौतारा । दिनभर ठिकै रहेको मौसममा बदली भएर साँझ जिल्लाभर हावाहुरी र भारी असिना परेको छ । तिव्र हावाहुरी आएपछि बिजुली बत्ति समेत गएको बलेफी गाउँपालिका २ का कृष्णप्रसाद पौडेलले बताए । एक्कासी परेको ठूलो मात्राको असिना पानीले जनजीवन प्रभावित भएको छ । ठूलो आकारका असिना लामो समयसम्म परेपछि अन्नबाली, तरकारी र फलफूलका फूलमासमेत क्षती भएको छ ।

विजुली चम्किने, ठूलो आवाज सहितको लगातारको चट्याङले त्रास बढाएको स्थानीयले बताएका छन् । बलेफी १ जलबिरेका स्थानीय विष्णुप्रसाद सापकोटाले जीवनमा कहिल्यै यती ठूलो असिना नदेखेको भन्दै असिनाको तस्बिर फेसबुकमा राखेका छन् । मकै बाली नष्ट भएको उनको गुनासो छ । जिल्लाको त्रिपुरासुन्दरीको पिस्करमा पनि असिनाले ठूलो क्षती पुगेको छ । यस्तै मेलम्ची क्षेत्रमा पनि असिना पानीले अन्नबालीमा क्षती पुगेको स्थानीयले बताएका छन् । जुगल गाउँपालिका वडा नं १ सेलाङमा पनि असिनाले दुख दिएको सञ्चारकर्मी निर्मल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया