बलेफी २ को वडा कार्यालय आफ्नै भवनमा

बलेफी गाउँपालिका २ को कार्यालय आफ्नै भवनमा सरेको छ । वडा कार्यालयबाट दैनिक रुपमा दिइने सेवा आजदेखि नयाँ भवनबाट दिन सुरु गरिएको वडाध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए ।

१९ चैत, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका, वडा नं २ को कार्यालय आफ्नै भवनमा सरेको छ । वडा कार्यालयबाट दैनिक रुपमा दिइने सेवा आजदेखि नयाँ भवनबाट दिन सुरु गरिएको वडाध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए ।
पहिलो र दोस्रो कार्यकालको करिब २ बर्ष भाडाको घरबाट कार्यालय सञ्चालन गरेको वडाले चैत्र १९ गतेदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको वडाध्यक्ष न्यौपानेले बताए । न्यौपानेका अनुसार सुरुमा भवन बनाउने विषयमा स्थान छनौटमा विवाद भएपछि वडा भवन निर्माणको काम अघि बढ्न सकेको थिएन । सर्बपक्षीय सहमतीका आधारमा वडा नं २ को न्यौपानेगाउँ र लाँकुरीढुँगा नजिक भोर्लाडाँडामा भवन निर्माण गरिएको छ ।
वडा कार्यालय निर्माणस्थलको टुंगो लागेपछि गाउँपालिकाले वडा कार्यालय निर्माणका लागि रकम छुट्याएको पालिका अध्यक्ष गंगा तामाङले जानकारी दिए । ७२ लाख लागतमा कार्यालय भवन निर्माणको काम सम्पन्न भएको वडा कार्यालयले जानकारी दिएको छ । मुख्य १५ बस्ती रहेको वडा नं २ कल्लेरीको माझमा पर्ने भोर्लाडाँडामा भवन निर्माण भइ सेवा सुचारु भएको सेवाग्राहीलाई अझ सजिलो हुने विश्वास गरिएको वडाका कम्युटर अपरेटर दामोदर न्यौपानेले बताए ।
राज्यको पुनर्संरचनासँगै साविकको फुल्पिङकोट गाविसलाई हाल बलेफी गाउँपालिकाको वडा नं २ र ३ मा विभाजन गरिएको छ । साविकको गाविस भवन वडा नं ३ मा परेपछि वडा नं २ ले स्थापनाकालदेखि नै भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया