नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ

नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

२० चैत, सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सदरमुकाम चौतारामा सम्पन्न दशौं जिल्ला अधिवेशनले श्रेष्ठसहित नयाँ नेतृत्व निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष कमल नेपाल १४ मतान्तरले पराजित भएका छन् । श्रेष्ठले तीन सय ६३ मत ल्याउँदा नेपालले तीन सय ४९ मत ल्याए ।
यस्तै उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी भएका छन् । उनले तीन सय ४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विष्णुमणि आचार्यले तीन सय सात मत ल्याए । सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी यज्ञ सापकोटाले दुई सय ७० मत प्राप्त गरे । उपसचिवमा शिवहरि सापकोटाले तीन सय ३६ मत ल्याएर विजयी भए भने विजयकृष्ण श्रेष्ठ तीन सय १३ मतमा पराजित भए । महिलातर्फ उपसचिवमा सुशीला पाख्रिनले चार सय ५६ ल्याएर निर्वाचित भइन् । उनको प्रतिद्वन्द्वी शोभा कार्कीले दुई सय आठ मत ल्याइन् ।
सिन्धुपाल्चोक एमालेले एक सय एक निर्वाचित र चार मनोनितसहित एक सय पाँच सदस्य जिल्ला कमिटी गठन गर्नेछ ।

प्रतिक्रिया