जुगल हिमाल आरोहण टोलीलाई काठमाडौंबाट बिदाई

नेपाल र दक्षिण कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर गर्न लागिएको जुगल हिमाल आरोहण टोलीलाई काठमाडौंबाट बिदाई गरिएको छ ।

२६ चैत, काठमाडौं । नेपाल र दक्षिण कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर गर्न लागिएको जुगल हिमाल आरोहण टोलीलाई काठमाडौंबाट बिदाई गरिएको छ ।

जुगल हिमाल रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्यद्वय सरल सहयात्री र अमृता नेपालले आरोहणदललाई काठमाडौंमा आयोजित एक कार्यक्रममा आरोहणको शुभकामना दिएर बिदाई गरे । यस अघि शनिबार विहान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बालुवाटारमा तीन नेपाली र सात कोरियाली आरोहीलाई दुबै देशको झण्डा हस्तान्तरण गरेर शुभकामना दिएका थिए ।

विदाईसँगै आरोहण टोली संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहणका लागि सिन्धुपाल्चोक प्रस्थान गरेको छ । आरोहण टोलीलाई बलेफी गाउँपालिकाले बलेफी बजारमा स्वागत गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए । टोलीलाई आजै जुगल हिमशृङखला रहेको जुगल गाउँपालिकाले स्वागत गर्ने छ । जुगल हिमालमा विदेशी पर्वतारोहिले औपचारिक आरोहण गर्न लागेको यो पहिलोपटक हो । आरोहणको सम्पूर्ण तयारी पूरा गरेर टोलि गन्तब्यतर्फ प्रस्थान भएको आरोहण दलका सदस्यसमेत रहेको पर्यटन अभियन्ता मिलन तामाङले जानकारी दिए ।

आरोहण दलका सदस्यहरु काठमाडौंबाट अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे पुग्ने छन् । त्यहाँ जुगल गाउँपालिकाले आरोहीहरुलाई स्वागत गर्ने कार्यतालिका रहेको पालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए । आरोहण दलले जुगल हिमशृङ्खलामा रहेको ६५९१ मिटरको ‘जुगल– १’ र ६५१८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने छ । दुबै चुचुरामा यसअघि आरोहण भएको छैन । यही चैत ८ गते बसेको मन्त्रि परिषद बैठकले दुबै हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो ।

यस अघि २०७५ चैत १५ गते गएको एक आरोहण दलले २६ चैतमा जुगल हिमशृङ्खला अन्तरतगतको हिमाल सफल आरोहण गरेको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा गएको टोलीले जुगल हिमालको चुचुरामा प्रथम पाइला राखेको थियो । त्यसबेला ६ हजार १ सय २६ मिटर अग्लो ग्याल्चेन पीक नाम गरेको चुचुरोको सफल आरोहण भएपछि जुगल हिमालबारे चर्चा सुरु भएको थियो ।

प्रतिक्रिया