नयाँ वर्षमा आफ्नै प्रशासनिक भवनमा सर्दै बलेफी गाउँपालिका, फोटो फिचर

जिल्लाको बलेफी गाउँपालिकाले आगामी नयाँ वर्षमा आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारी गरेको छ । भवन निर्माणको सम्पूर्ण काम सम्पन्न भएकोले २०८१ साल वैशाखदेखि नै नयाँ भवनबाट सेवा सुचारु गर्ने गरी तयारी भइरहेका गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ प्रवेशले जानकारी दिए ।

२७ चैत, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिकाले आगामी नयाँ वर्षमा आफ्नै प्रशासनिक भवनबाट सेवा दिने तयारी गरेको छ ।
भवन निर्माणको सम्पूर्ण काम सम्पन्न भएकोले २०८१ साल वैशाखदेखि नै नयाँ भवनबाट सेवा सुचारु गर्ने गरी तयारी भइरहेका गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ प्रवेशले जानकारी दिए । बलेफी गाउँपालिकाको बलेफी बजार नजिकै वडा नं ५ को बागले गाउँमा निर्माण सम्पन्न अत्याधुनिक प्रशासनिक भवनमा सर्ने अन्तिम तयारी भइरहेको अध्यक्ष तामाङको भनाई छ । ‘भवनको काम सकियो, जनप्रतिनिधि, कर्मचारी बस्ने कक्षहरुको सजावटको काम चलिरहेको, आगामी वैशाख भित्रै नयाँ भवनबाट सेवा सुचारु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं’ अध्यक्ष तामाङले भने ।


गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनमा २४ वटा कोठा र एउटा हल रहेको छ । कम्पाउण्डभित्र ६ वटा कोठा र एउटा भान्छा सहितको आवास भवन समेत बनाइएको छ । प्रशासनिक भवन परिसर भित्रै क्यान्टिन ब्लक र सेवाग्राहिका लागि सुविधासहितको प्रतिक्षालय पनि बनाइएको गाउँपालिका अध्यक्षको सचिवालयका नारायण पराजुलीले जानकारी दिए । पालिका भवनमा पानी व्यवस्थापनको काम पनि भइरहेको पराजुलीले बताए । गाउँपालिकाको प्रशासनिक भवन चार रोपनी क्षेत्रफलमा फैलिएको पालिकाका प्राविधिक सन्तोष सापकोटाले जानकारी दिए ।
सुरुको लागत अनुमान १० करोड रहेकोमा निर्माण कम्पनीले ५ करोड ९६ लाखमा ठेक्का सम्झौता गरेको गाउँपालिकाले जनाएको छ । गाउँ पालिका भवन निर्माणको काम अघिल्लो कार्यकाल मै सुरु भएर पनि घेराबार लगाइएको स्थानमा पहिरो गएका कारण निर्माण सम्पन्न हुन ढिलाई भएको पालिकाले जनाएको छ । गाउँ पालिकाले हाल बलेफी बजारमा भाडाको भवनबाट र कपिलेश्वर मन्दिर नजिक निर्मित वडा नं ५ को कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।


जलविरे, नौविसे, धुस्कोट, गहते, बलेफी, बिन्जेल, खाडीचौर, लामोसाँघुलगायतका मुख्य बस्ती र १ सय ५० हाराहारीमा ग्रामीणबस्तीहरु रहेको बलेफी गाउँपालिकाले पालिका भित्रका सबै सेवाग्राहीका लागि केन्द्र भाग पर्ने गरी बलेफी बजार नजिकै नयाँ भवन बनाउने निर्णय गरेको थियो ।
ब्रम्हायणी र भोटेकोशी नदीको संगमस्थलमा रहेको बलेफी बजार जुगल हिमालको प्रवेशद्वार समेत हो । ‘बलेफी जलविरे तेम्बाथान सहायक राष्ट्रिय’ राजमार्ग बलेफी बजारबाट सुरु हुन्छ । यहि बाटो भएर काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल, जुगल हिमाल पुगिन्छ ।

प्रतिक्रिया