समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन् ।

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन् ।
शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।”
सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।”
सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया