आजदेखि विद्यालय भर्ना अभियान सुरु, बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।

२ बैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ देशभर नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको हो । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने तयारी भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन । शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् । गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएका भन्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको जानकारी गराए । यो महत्वपूर्ण प्रबन्धका निम्ति उनले नेपाल सरकारको तर्फबाट सबैमा धन्यवाद व्यक्त गरेका छन् । उनले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि नेपाल सरकारले विभिन्न प्रयासहरु गर्दै आएको पनि बताएका छन् । नेपाल सरकारले वर्षेनी विद्यालय शिक्षामा ठूलो लगानी गरेको र शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदारहरु, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य रहेको उनको भनाइ छ । सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको भन्दै उनले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया