कालिन्चोक मन्दिर पुग्न बाह्रबिसे बुधेपाको बाटो नजिक, सांसद सापकोटाद्वारा अनुगमन

सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्ने चर्चीत धार्मिक एवं पर्यटकीयस्थल कालिन्चोक भगवती मन्दिर पुग्न सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे बजार हुँदै जाने बाटो आधा नजिक हुने पाइएको छ ।

५ बैशाख, बाह्रविसे । सिन्धुपाल्चोक र दोलखाको सिमानामा पर्ने चर्चीत धार्मिक एवं पर्यटकीयस्थल कालिन्चोक भगवती मन्दिर पुग्न सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे बजार हुँदै जाने बाटो आधा नजिक हुने पाइएको छ ।
चालु अवस्थामा रहेको वैकल्पिक सडकको अवस्थाबारे जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले स्थानीय नेता कार्यकर्तासहित मंगलबार स्थलगत अनुगमन गरे । अनुगमन पछि उनले आधा समयमै कालिन्चोक पुग्न सकिएको बताए । ‘बैकल्पिक मार्ग प्रयोग गर्न सकिने रहेछ’ उनले भने । सांसद सापकोटाले देशभरका तिर्थालु र पर्यटकहरुलाई बैकल्पिक र छोटो बाटो प्रयोग गरेर यात्रा गरिदिन अपिल समेत गरेका छन् । सडकको स्तरोन्नति गर्न आफूले आवश्यक पहल गर्ने उनको भनाई छ । बाटोमा पर्ने हाँडीखोलामा पक्कि पुल निर्माण भई सञ्चालनमा छ ।

कुरी जोडिएको यो खण्ड जम्मा २९ किलोमिटर मात्रै छ । जिल्लाको खाडीचौरबाट चरिकोट हुँदै कुरी बजार पुग्न झण्डै ७० किलो मिटर सडक पार गर्नु पर्छ ।
दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य तिर्थालुहरु पुग्ने कालिन्चोक भगवती मन्दिर क्षेत्र पुग्न दोलखाको चरिकोट बजारबाट जाने सडक चल्तिको बाटो छ । केही बर्ष अघि छोटो र बैकल्पिक बाटोका रुपमा सिन्धुपाल्चोकको बाह्रविसे बजार हुँदै बुधेपा, बगर, घोर्थली, बिन्थली हुँदै कुरी बजार निस्केर कालिन्चोक भगतवती मन्दिर पुग्ने सडक निर्माण गरिएको थियो ।
यो बाटो सञ्चालनमा आउँदा समयको बचत हुनुका साथै रमणीय यात्राको आनन्द लिन सकिने सडक सञ्चालनका अभियन्ता एवं स्थानीय नेता भीम पराजुली रदिपले जानकारी दिए ।
सो सडकमा दैनिक बोलेरो चलाएर सेवा दिइरहेका सुक बहादुर तामाङले बाह्रविसे हुँदै दैनिक ५० देखि १०० जनासम्म तिर्थालु एवं पर्यटक पुग्ने गरेको बताए । आफूले दैनिक जस्तो यहि सडकमार्गबाट तिर्थालुलाई कालिन्चोक लाने गरेको सुनाएका उनले नयाँ बर्षका दिनमा ठूलो संख्याका पर्यटकले यो बाटो प्रयोग गरेको जानकारी दिए ।

प्रतिक्रिया