काम नगर्ने कम्पनीका ठेक्का रद्द गर्नुस : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समयमा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् ।

११ वैशाख, सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समयमा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । सोमबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा निर्माणाधिन रंगशालाको स्थलगत अनुगमनका क्रममा उनले सम्बद्ध पक्षलाई टेलिफोन गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीसंगको सम्झौता रद्द गर्न निर्देशन दिएका हुन् । अनुगमनका क्रममा रंगशाला निर्माणको काम सुस्त गतिमा भएको पाएपछि उनले आक्रोश व्यक्त गरे ।

विगत ५ वर्षदेखि गिरी कन्सट्रक्शनले रंगशाला निर्माणको काम गरिरहेको छ । तर यो काम ३ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । अनुगमनका क्रममा अहिलेसम्म ४० प्रतिशत मात्र काम भएको पाइएको छ । बागमती प्रदेश सरकारले सो कामको लागि बजेट छुट्याएको हो । निर्माण ढिलाईका कारण खेलाडीहरुलाई निरास बनाएको चौतारा स्र्पोटिङ क्लबका अध्यक्ष सबिन श्रेष्ठले बताए । स्थलगत अनुगमनमा मुख्यमन्त्री जम्कट्टेलसहित संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटा, नगरपालिकाका सल्लाहकार चन्द्र सापकोटा लगायत पुगेका थिए ।

प्रतिक्रिया