चिकित्सक लिएर गाउँ आएकी सांसद नेपाललाई ओख्रेनीबासीको धन्यवाद

सांसद नेपालले महिलाहरुलाई रोग नलुकाउन सुझाव दिइन । ‘रोग लुकाएर नबसौ, हाम्रो सम्पती भन्नु नै हाम्रो स्वास्थ्य हो, महिला दिदी बहिनीहरुले समस्या भन्नु पर्छ, यसमा पुरुषले पनि सहयोग गर्नुपर्छ’ उनले भनिन् ।

२२ वैशाख, सिन्धुपाल्चोक । शनिबार बिहानै जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ मा पर्ने विकट गाउँ ओख्रेनी बस्तीका स्थानीय गाउँमा आउँदै गरेका मानिसहरुलाई हात पाली लगाएर हेरीरहेका थिए । एकै छिनमा आफ्नै घरमा मानिसहरुको लर्को पसेपछि ओख्रेनीबासी सुरुमा त के भएछ भनेर अचम्ममा परे । अक्सर चुनाब बाहेक बाहिरी मानिस कमै पुग्ने गाउँमा महिला र पुरुष मिलेर आएको टोलीलाई गाउँकाले के भयो ? भनेर मुख खोल्नु अघि नै टोलीको नेतृत्व गर्दै अघि अघि आएकी महिलाले गाउँलेलाई नमस्कार गर्दै चिन्नु भो मलाई भनेर सोधिन । ‘देखेको त हो नाउँ चै ठ्याक्कै भन्न सकिएन, स्थानीय पुरुषले जवाफ फर्काए । ‘म अमृता नेपाल, बागमती प्रदेश सभा सदस्य, तपाईहरुले जिताउनु भएको सांसद है न त’ उनले चिनाइन् । ए, ‘चुनाव आइसक्यो र फेरि !’ अधबैंशे पुरुषले व्यङ्ग्य कसे । सांसद नेपालले कोरोना कालमा पनि आफू औषधि लिएर आएको स्मरण गराइन् । स्थानीय माया गुरुङले गाउँमा आएका पाहुनालाई चिनेर अभिवादन फर्काइन् ।
त्यतिबेलासम्म बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, पालिकाका नारायण पराजुली, जलविरे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा उज्जवल कर्ण, धुस्कोट सामुदायिक स्वास्थ्य ईकाइका ईन्चार्ज सज्जन न्यौपाने, फुल्पिङकोट स्वास्थ्यचौकी ए एन एम सरीता लिम्बु पनि गाउँमा पुगिसकेका थिए ।
कोरोना कालमा गाउँका कतिपय महिलाहरुले स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राखेको खबर पाएकी सांसद नेपालको अग्रसरतामा जनप्रतिनिधि र चिकित्सकको टोली ओख्रेनी, सिमासिङ र त्यांथली पुगेको थियो ।
स्वास्थ्यकर्मीको टोलीले तीन वटै गाउँमा पुगेर स्वास्थ्य सम्बन्धी जानकारी लिएको थियो । टोलीले दिनभरीमा तीन महिलाको पाठेघरमा रिङ राखेको, एक महिलाको पाठेघर सम्बन्धी उपचार दिन सफल भयो । अन्य २५ जना स्थानीयले आफूलाई परेको स्वास्थ्य सम्बन्धी समस्या घर घर आइपुगेका चिकित्सकहरुलाई सुनाए ।

उपचार पाएपछि महिलाहरुले आफूहरुका लागि घरमै डाक्टर ल्याइदिएको भनेर सांसद नेपाललाई धन्यवाद दिए । जवाफमा सांसद नेपालले महिलाहरुलाई रोग नलुकाउन सुझाव दिइन । ‘रोग लुकाएर नबसौ, हाम्रो सम्पती भन्नु नै हाम्रो स्वास्थ्य हो, महिला दिदी बहिनीहरुले समस्या भन्नु पर्छ, यसमा पुरुषले पनि सहयोग गर्नुपर्छ’ उनले भनिन् । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले पनि समस्या जानकारी गराउन आग्रह गरे । सांसद आफैं स्वास्थ्यटोली लिएर गाउँमा पुगेपछि बिटक बस्तीका किसानले उनीहरुलाई धन्यवाद सहित विदाई गरे ।
सांसदसँगै आएका चिकित्सक र जनप्रतिनिधिहरुलाई पनि धन्यवाद दिए । उपचारमा संलग्न चिकित्सकहरुले ग्रामीण महिलाहरुले दशकौं देखि आङ खस्ने समस्या लुकाएर बसेको पाइएको बताए । बलेफीको विकट गाउँहरुबाट स्थानीय स्वास्थ्य संस्थामा पुग्न धेरै समय त लाग्छ नै उपचारका लागि स्वास्थ्य संस्था जानु पर्छ भन्ने चेतना पनि कम रहेको छ ।

प्रतिक्रिया