जिल्ला लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबलाई

जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरीय लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबले जितेको छ ।

२३ बैशाख, सिन्धुपाल्चोक । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा चौतारा स्पोर्टिङ क्लबले सदाबहार युवा क्लब खाडिचौरलाई पेनाल्टी मार्फत ४–३ को गोल अन्तरमा पराजित गरेको हो । उपाधिसँगै चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । निर्धारित र थपेको समयमा पनि दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा प्रवेश गरेको थियो । फुटबलमा प्रथम हुने टिमले प्रदेश स्तरीय लिग फुटबलमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा वेस्ट डिफेन्स भीम गुरुङ, हाइ स्कोरर सरोज पराजुली, अन्डर नाइनटीन इमरजीङ प्लेयर विशालजंग रायमाझी, मष्ट भ्यालुएबल प्लेयर सरोज पराजुली घोषित भएका छन् । त्यस्तै वेस्ट कोचमा सरोज भुजेलले उपाधि पाएका छन् ।

यही बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा चौतारा र सदाबहारसहित श्री कालिका युवा क्लब, त्रिशक्ति युवा क्लब, श्री राइजिङ युवा क्लब, बाह्रदेवी युवा क्लब, धार्पा युवा क्लब, साँगाचोक युवा क्लब, प्याराडाइज युवा क्लब, न्यू जेनेरेसन युवा क्लब, लामोसाँघु युवा क्लब, सुनौलो बिहानी युवा क्लब, योङ जेनेरेसन युवा क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया