‘बाह्रबिसे -७ घुम्थाङ’ बन्यो सबै घरधुरी र सार्वजनिक भवनमा नम्बर राख्ने पहिलो वडा

जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ वडाभित्रका सबै घरधुरी र सार्वजनिक भवनमा नम्बर राख्ने पहिलो वडा बनेको छ ।

३ जेठ, सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर -७ वडाभित्रका सबै घरधुरी र सार्वजनिक भवनमा नम्बर राख्ने पहिलो वडा बनेको छ । वडा घरधुरी सर्वेक्षण, आवश्यक सूचना संकलन तथा सार्वजनिक सम्पतीको पहिचान कार्यमा यो वडा पहिलो बनेको हो । वडाका सबै घरमा तथा मन्दिर, गुम्बा, चर्च, विद्यालयहरुमा नम्बरप्लेट राख्ने कार्य गरिएको छ ।

‘कोबो कलेक्ट सफ्टवेर’मार्फत जिपिएस लोकेसनसमेत राखेर गरेको घरधुरी तथा सार्वजनिक सम्पती पहिचानबाट संकलित तथ्यांकका आधारमा सेवा प्रवाह गरिने वडाअध्यक्ष ङिमा शेर्पाको भनाई छ । राष्ट्रिय जनगणनाबाट आएको तथ्यांकमा थपघट भईसकेको, वडाका लागि मात्र चाहिने कतिपय तथ्यांक थप्नुपरेको र वडामा रहेका सबै घरधुरिको नक्साङ्कन समेत गर्नुपर्ने भएकाले यो आर्थिक वर्षमा पहिचानको काम गरिएको उनले जानकारी दिए । घरधुरी सर्वेक्षण पश्चात प्राप्त तथ्यांकले वडाबासीलाई सेवा प्रवाहमा सहजता प्रदान गर्ने उनको विश्वास छ ।
घरधुरी तथा सार्वजनिक सम्पती सर्वेक्षणमा कूल ११५८ घरधुरीमा नम्बरप्लेट जडान गरिएको वडाध्यक्ष शेर्पाले बताए । यस्तै २१ वटा मन्दिर, ९ वटा विद्यालय, ८ वटा चर्च, ८ वटा सार्वजनिक भवन र ४ वटा गुम्बा समेत पहिचान गरी नम्बरप्लेट लगाइएको वडाले जनाएको छ । २०७८ सालको जनगणनाअनुसार यो वडाको जनसंख्या ३ हजार ३ सय २२ छ । जसमा पुरुषको संख्या १६४२ र महिलाको संख्या १६८० छ । सर्वेक्षणको तथ्यांक अनुसार यहाँका ८४.६३ प्रतिशत घर कच्ची छन् भने १५.३७ मात्र पक्की घर रहेको पाइएको छ । यस क्षेत्रमा ४७.६७ प्रतिशत परिवारले हिन्दु धर्म मान्ने गरेको पाइएको छ भने ४३.८७ प्रतिशत परिवारले बौद्ध धर्म मान्ने गरेको पाइएको छ । यस्तै ८.२९ प्रतिशत घरपरिवार क्रिश्चियन धर्ममा आवद्ध रहेको तथ्यांकले बताएको छ । यस्तै ०.१७ प्रतिशतले अन्य धर्म पनि मान्ने गरेको पाइएको छ । यहाँका ११५८ घरधुरीमध्ये ५१.५७ प्रतिशत परिवारले नेपाली भाषा, २१.४२ प्रतिशतले शेर्पा भाषा, १७.९६ प्रतिशतले तामाङ भाषा, ८.६४ प्रतिशतले नेवारी भाषा र बाँकीले अन्य भाषा बोल्ने गरेको पाइएको वडाध्यक्ष शेर्पाले जानकारी दिए । वडाका सबै घरमा बिजुली पुगेको र सबै घरमा चर्पी रहेको पाइएको छ ।

वडाध्यक्ष शेर्पाले गत माघ १३ गते घुम्थाङको एक घरमा नम्बर प्लेट राखेर घरधुरी तथा सार्वजनिक सम्पती पहिचान कार्यको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया