मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

९ जेठ, काठमाडौं । मन्त्रिपरिषद्का सदस्यहरूको ६ वर्षदेखि रोकिएको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । ०७४ फागुनमा केपी ओली नेतृत्वको सरकारको कार्यकालपछि मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य थियो । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का २१ सदस्यको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको छ । ३ जेठको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, सरकारले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको थियो ।

मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेपछि सरकारमाथि दबाब बढेको थियो । गत २४ वैशाखमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार नै गरेका थिए । आफूहरूले बुझाइसकेको सम्पत्ति विवरण सार्वजनिक गरिदिन उनीहरूले एकैपटक अलग–अलग रूपमा प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेका थिए । भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ व्यवस्था छ । त्यस्ता व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्छ । यसरी प्राप्त भएको सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था भए पनि प्रधानमन्त्री र मन्त्रीहरूका हकमा सार्वजनिक गर्ने अभ्यास चलिआएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा पनि यससम्बन्धी व्यवस्था छ  । यसअघि ०७४ को ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सरकार बनेको दुई महिनापछि सार्वजनिक गरिएको थियो । तर, त्यसपछि हेरफेर भएका र थपिएका मन्त्रीको सम्पत्ति विवरण गोप्य राखियो ।

प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले गत वर्ष भदौ २० मा पेस गरेको सम्पत्ति विवरणअनुसार दिवंगत पत्नी सीता दाहालको नाममा भरतपुर महानगरपालिका– वडा नं.१४ मा पार्किङसहितको १४ कट्ठा क्षेत्रफलमा बनेको घर छ । उक्त घर प्राप्तिको स्रोतमा पैतृक उल्लेख गरिएको छ । त्यस्तै, भरतपुर महानगरकै वडा नं। १२ मा अंशबापत प्राप्त भएको एक कट्ठा जमिन रहेको प्रधानमन्त्री प्रचण्डले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पैतृक सम्पत्तिबापत नै प्राप्त भएको पाँच तोला सुन, प्रतिनिधिसभा सदस्यको हैसियतले पाएको २५ लाख रुपैयाँ एभरेष्ट बैंक लिमिटेडमा मौज्दात रहेको देखिन्छ ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले गत २१ वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार पत्नी जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा नं। ९ मा तीन कट्ठा क्षेत्रफलमा ०५५ सालमा बनेको साढे दुई तलाको घर र ललितपुर महानगरपालिका वडा नं। २५ मा दुई रोपनी १३ आना दुई पैसा एक दाममा ०६६ सालमा जग्गा खरिद गरी साढे दुई तलाको घर बनाएको उल्लेख छ । त्यस्तै, जग्गातर्फ पत्नी महतोका नाममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सात बिघा तीन कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा, ललितपुर महानगरपालिकामा एक रोपनी सात आना र जनकपुर उपमहानगरपालिकामा तीन कट्ठा ११ धुर जग्गा विभिन्न समयमा खरिद गरेको सम्पत्ति विवरणबाट खुल्छ । रघुवीरकै नाममा जनकपुर उपमहानगरपालिका वडा नं। १४ मा एक बिघा १५ कट्ठा जग्गा छ । त्यस्तै, दुई करोड २५ लाख रुपैयाँ नगद छ । यसको स्रोतका रूपमा काठमाडौं र ललितपुरका जग्गा बिक्री र पैतृक जग्गाको कृषि बालीबाट प्राप्त सम्पत्तिलाई उल्लेख गरिएको छ । त्यस्तै, ४३ तोला सुन र डेढ किलो चाँदी पैतृक तथा उपहारबापत रहेको पनि सम्पत्ति विवरणमा छ । त्यस्तै पैतृक, खरिद र उपहारबापत पाएको सात थान औँठी, तीन थान सिक्री, तीन जोडा कानमा लगाउने र दुई जोड चुरा ९बाला० रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री महासेठ र पत्नी महतोका नाममा सातरसातवटा बैंकमा खाता रहेको उल्लेख छ । पत्नी महतोका नाममा गुलविल फाइनान्स, काठमाडौं र लक्ष्मी बैंक काठमाडौंलगायतमा पाँच लाख रुपैयाँबराबरको, महिला लघुवित्त संस्थामा अर्को एक करोड मूल्यको र कर्पोरेट बैंक वीरगन्जमा अर्को दुई करोड ५० लाख रुपैयाँ मूल्यको सेयर देखिन्छ । यसको स्रोतमा ऋण, सापटी, सहयोग र पैतृक तथा कृषि आय देखाइएको छ । सगोल परिवारका स्व। रामविलास महासेठका नाममा धनुषाको मिथिला विहारी नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा करिब ३३ बिघा, आमा स्व। मायावती महासेठका नाममा साबिक बालावाखर पटेरवा गाविसमा करिब ३९ बिघा १४ कट्ठा ९हाल नापीमा छुट० र सगोलको घरजग्गा मिथिला विहारी नगरपालिकामा करिब १० कट्ठा जग्गा छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
गत २० वैशाखमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ८ मा पैतृक सम्पत्तिबापत प्राप्त उनको करिब ३९ रोपनी जग्गा छ । यो पनि २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र यो प्रक्रियामै रहेको उनले उल्लेख गरेका छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा सेवा–सुविधाबापत एक लाख २२ हजार ९१८ रुपैयाँ नगद मौज्दात छ । सवारीसाधनका रूपमा पार्टी अध्यक्ष प्रचण्डले प्रयोगका लागि दिएको महिन्द्रा गाडी रहेको पनि उनले उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गत ४ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार पत्नी निकिता पौडेलका नाममा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं। ८ मा पाँच आनामा बनेको घर छ । तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको घरको डेढ करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी नै रहेको उल्लेख छ । यसको स्रोतका रूपमा गोपीकृष्ण इन्टरनेसनलको सञ्चालन, भाडा, नारी टिभी, ब्रान्ड एम्बेस्डरबाट प्राप्त पारिश्रमिक, तलब, लाभांशलगायत रहेको खुलाइएको छ । त्यस्तै, जग्गातर्फ लामिछानेका नाममा पैतृक सम्पत्तिबापत भक्तपुरमा एक रोपनी एक आना र पत्नी पौडेलका नाममा गोपीकृष्ण प्रालिमा माइतीतर्फको पारिवारिक सगोलको १० रोपनी आठ आना जग्गाको २५ प्रतिशत सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अधिकांश बुबाआमाबाट र केही खरिद गरेकोसहित विभिन्न गहनामा पत्नी पौडेलको करिब ८० तोला सुन र १५ किलो चाँदी रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । उपप्रधानमन्त्री लामिछानेका नाममा ग्लोबल आइएमईमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजारसहित एक लाख १० हजार रुपैयाँ र पत्नी पौडेलका नाममा विभिन्न पाँच बैंकमा पाँच लाख ५८ हजार ५११ रुपैयाँ मौज्दात देखिन्छ । पत्नी पौडेलकै नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको आठ करोड ७५ लाख रुपैयाँ मूल्यको २५ प्रतिशत सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । पौडेलकै नाममा घर किन्न लिएको डेढ करोड रुपैयाँ ऋण पनि सम्पत्ति विवरणमा खुलाइएको छ । उनैका नाममा दम्पतीकै निजी आय तथा बचतबाट खरिद गरेको ४२ लाख रुपैयाँ मूल्यको टाटा नेक्सन इभी कार रहेको पनि सम्पत्ति विवरणमा छ । अन्य सम्पत्तितर्फ पत्नी पौडेलको नाममा रहेको नारी टेलिभिजनको हालको मूल्य तीन करोड र गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनीमा एक सञ्चालक रहेकामा त्यसको मूल्य हाल एक करोड रुपैयाँ रहेको उपप्रधानमन्त्री लामिछानेले पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुन
गत १८ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वर्षमान पुनका नाममा रोल्पाको रोल्पा नगरपालिका वडा नं। ७ मा ८२० वर्गमिटरको पैतृक सम्पत्ति, तलब–भत्ता, भ्रमण–भत्तासमेतको ३३ लाख ७० करोड ६१८ रुपैयाँ मौज्दात, पार्टीको सम्पत्ति रहेको एक हलुका सवारीसाधन छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, शक्तिबहादुर बस्नेत
गत २८ वैशाखमा मन्त्री बस्नेतले पेस गरेको सम्पत्ति विवरणअनुसार छोरी संगम बस्नेतका नाममा जाजरकोटमा दुई ठाउँमा जग्गा र पत्नी सत्य पहाडीका नाममा १० लाख रुपैयाँ मूल्यबराबरको माइतीबाट प्राप्त जग्गा छ । त्यस्तै, पारिश्रमिक, तलब–भत्ता, पैतृक र खरिदसमेतबाट आर्जित ३५ लाख रुपैयाँ नगद र पाँच तोला सुन तथा राष्ट्रिय वाणिज्य बैंकमा १० लाख रुपैयाँ पारिश्रमिकबापतको रकम मौज्दात छ । त्यस्तै, पत्नी पहाडीका नाममा ६ लाख रुपैयाँ मूल्यको सेयर छ । पार्टीले दिएको एउटा स्करपियो गाडी पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी
मन्त्री जोशीले गत ६ चैतमा बुझाएको सम्पत्ति विवरणअनुसार बझाङमा उनको २÷२ रोपनीमा बनेको दुईवटा घर र जयलक्ष्मीदेवी जोशीका नाममा काठमाडौंको कीर्तिपुरमा पाँच आना जग्गामा बनेको घर छ । त्यस्तै, जयराज जोशी र निर्मलाकुमारी जोशीका नाममा विभिन्न क्षेत्रफलमा जग्गा देखिन्छ । जयलक्ष्मीका नाममा चार तोला, लोकेन्द्र जोशीका नाममा ८८.६६ ग्राम, निर्मला कोइरालाका नाममा ३९ ग्राम र रूपा रतालाका नाममा १६ तोला सुन र ६० तोला चाँदी देखिन्छ । उनैका नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख रुपैयाँ मौज्दात, जयलक्ष्मीको आठ लाख मूल्यको सेयर, निर्मलाकुमारी कोइरालाको नाममा एक स्कुटर रहेकोलगायतको सम्पत्ति विवरण उनले खुलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ
मन्त्री तामाङको गृहजिल्ला नुवाकोटमा ३५ लाख रुपैयाँमा किनेको १२ रोपनी चार आना तीन पैसा क्षेत्रफलको जग्गा छ । ६ तोला सुन र १३ लाख रुपैयाँ नगद पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् । उनको एक लाख रुपैयाँ ऋण छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
गत १० वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार मन्त्री शर्माको पति कृष्णध्वज खड्काको नाममा कीर्तिपुरमा ६ आनामा बनेको अढाई तलाको घर छ । यो पारिश्रमिक, ऋण र पैतृक आयबाट खरिद गरेको उनले खुलाएकी छिन् । त्यस्तै, पैतृक र उपहारबापत ६ तोला सुन र दुई तोला चाँदी तथा दुई बैंक र एक सहकारीमा गरेर २१ लाख ७८ हजार रुपैयाँ मौज्दात छ । राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ । पारिश्रमिक र ऋणमा ३६ लाख रुपैयाँमा खरिद गरेको हुन्डाई कारलाई पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी
गत २१ वैशाखमा बुझाएको सम्पत्ति विवरणअनुसार मन्त्री गिरीको नाममा पर्वतको कुश्मामा सात आनामा बनेको पैत्रिक घर, कुश्मामै आफ्नो नाममा सात आना र आमाकोे नाममा चार आना जग्गा रहेको उनले खुलाएका छन् । त्यस्तै, पैतृक सम्पत्तिबापत २३ तोला सुन, सांसदको तलब–भत्ताको दुईवटा बैंकमा गरेर एक लाख मौज्दात, न्यु एरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस पोखरामा ५० लाख रुपैयाँबराबरको सेयर रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । ४० लाख रुपैयाँ ऋण रहेको पनि उनले उल्लेख गरेका छन् ।

कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह
गत १४ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार मन्त्री साहको नाममा बारामा दुईवटा घर, अमृत शर्माको नाममा बारामै अर्को घर छ । अमृत शर्माका नाममा ५० लाख रुपैयाँमा खरिद गरेको पैतृक जग्गा पनि छ । मन्त्री साहको नाममा १० तोला सुन र २५ तोला चाँदी, दुईवटा बैंकमा ४० लाख मौज्दात तथा चार कट्ठामा बनेको अढाई तले घर पनि छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी
गत ३ वैशाखमा पेस गरेको सम्पत्ति विवरणअनुसार मन्त्री अधिकारीले बुझाएको सम्पत्ति विवरणमा वसुन्धरा पौडेल अधिकारीका नाममा कपिलवस्तुको वाणगंगा नगरपालिकामा घर छ । कपिलवस्तुको वाणगंगा र बुद्धभूमि नगरपालिकामा करिब डेढ बिघा तथा काठमाडौंको कीर्तिपुरमा ३५ लाख रुपैयाँ मूल्यको जग्गा छ । त्यस्तै, १० तोला सुन र पत्नीसहित उनको नाममा १५ लाख मौज्दात, छोरा मनोज अधिकारको नाममा १५ लाख रुपैयाँ मूल्यको सेयर छ । ४५ लाख रुपैयाँ ऋण दिएको, एक लाख २५ हजार रुपैयाँ मूल्यको मोटरसाइकल पनि उनले सम्पत्ति विवरणमा समेटेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी
मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणअनुसार उदयसिंह भण्डारीका नाममा बैतडीमा ६ कोठे घर र दुई रोपनी जग्गा छ । त्यस्तै, कविता भण्डारीका नाममा कञ्चनपुरको कृष्णपुरमा दुई कट्ठा जग्गा छ । मन्त्री भण्डारीले आफूसँग ६ तोला सुन, कविता भण्डारीसहित उनको नाममा विभिन्न खातामा १२ लाख २८ हजार रुपैयाँ मौज्दात र प्रसिद्ध भण्डारीको आठ लाख मूल्यको सेयर छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी
मन्त्री चौधरीले बुझाएको सम्पत्ति विवरणअनुसार उनका नाममा सुनसरीको दुहबीमा घर छ भने काठमाडौंमा दुई करोड ६७ लाख रुपैयाँ मूल्यको घर छ । यो स्वआर्जनबाट खरिद गरेको उनले उल्लेख गरेकी छिन् । त्यस्तै, स्वआर्जनबाटै सुनसरीका विभिन्न चार ठाउँमा ४६ लाख रुपैयाँमा जग्गा खरिद गरेको उनले उल्लेख गरेकी छिन् । दाङमा पनि उनको जग्गा छ । आफूसँग ७५ तोला सुन र २५ किलो चाँदी रहेको पनि चौधरीले सम्पत्ति विवरणमा खुलाएकी छिन् । विभिन्न बैंकमा करिब १८ लाखको मौज्दात रहेको पनि उनले उल्लेख गरेकी छिन् । विभिन्न कम्पनीमा तीन लाख ९१ हजार १०५ कित्ता सेयर पनि स्वआर्जनबाट खरिद गरेको उनको सम्पत्ति विवरणमा छ । दुई करोड १० लाखको ऋण लिएकामा एक करोड १० लाख तिरिसकेको पनि उनले उल्लेख गरेकी छिन् । चार लाख ६५ हजार मूल्यको मोटरसाइकल पनि उनको नाममा छ । अन्य सम्पत्तिको विवरणमा उनले २५ किलो चाँदी र ८५ तोला सुन पनि उल्लेख गरेकी छिन् ।

खानेपानीमन्त्री राजेन्द्रकुमार राई
मन्त्री राईले बुझाएको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटाको पाख्रिबासमा अंशबापतको एउटा घर छ । त्यस्तै, पाख्रिबासमै दुईवटा चियाबगान छ । १० तोला सुन र सय तोला चाँदी पुख्र्यौली सम्पत्तिबाट प्राप्त गरेको उनले खुलाएका छन् । दुई बैंकमा ५५ लाख रुपैयाँ ऋण तथा पत्नी र बुहारीको नाममा १÷१ वटा स्कुटर पनि रहेको उनले उल्लेख गरेका छन् । १० लाख मूल्यका सातवटा गाई र २५ लाख मूल्यका ६३ वटा बाख्रा पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

रक्षामन्त्री हरिप्रसाद उप्रेती
मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार भोजकुमारी उप्रेतीका नाममा सर्लाहीमा १५.५ कट्ठामा बनेको घर र गोविन्दप्रसाद उप्रेतीका नाममा २० कट्ठा जग्गा छ । २५ तोला सुन र १६ लाख मूल्यको गाडी पनि सम्पत्ति विवरणमा उनले खुलाएका छन् ।

सहरी विकासमन्त्री धनबहादुर बुढा
मन्त्री बुढाको नाममा डोल्पामा चारवटा घर छन् । पत्नीका नाममा काठमाडौंमा १७ आनामा सात तले घर र अर्को २० आनामा बनेका तीनतले दुईवटा घर छन् । त्यस्तै, पत्नीका नाममा काठमाडौंमा सात आना जग्गा पनि छ । १५० तोला सुन र ३०० तोला चाँदी पनि मन्त्री बुढाले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा उनको ६० लाख रुपैयाँ मौज्दात छ । हाइलक्स र प्राडो गाडी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो सबै सम्पत्ति पैतृक र व्यवसायबाट जोडेको उनले खुलाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल
मन्त्री अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार अम्बिका केसीका नाममा काठमाडौंमा तीन करोडमा खरिद गरेको घर छ । यो आफ्नो निजी कमाइबाट किनेको उनले जनाएका छन् । त्यस्तै काठमाडौं, भक्तपुर, धादिङ र लमजुङका विभिन्न ठाउँमा अम्बिका र आफ्नो नाममा पाँच करोड २८ लाख रुपैयाँ मूल्यमा खरिद गरेको जग्गा उनले सम्पत्ति विवरणमा देखाएका छन् । त्यस्तै, ८० लाख २० हजारमा खरिद गरेको १५० तोला सुन, ७४ हजार पाँच सयमा किनेको सय तोला चाँदी र पाँच लाख ४० हजारमा खरिद गरेको १० तोला हिरा पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । अम्बिका र आफूसमेतको नाममा विभिन्न बैंक र सहकारीमा दुई करोड १८ लाख रुपैयाँ मौज्दात पनि उनले खुलाएका छन् । जनसागर सहकारीमा मात्र उनको र अम्बिकाको एक करोड ३० लाख मौज्दात छ । त्यस्तै, विभिन्न बैंक र सहकारीमा गरेर ६७ लाख मूल्यको सेयर छ । त्यसमध्ये जनसागर सहकारी, सुवर्णभूमि सहकारी र संयम सहकारीमा गरेर २३ लाख मूल्यको सेयर छ । एक करोड ५० लाख रुपैयाँ ऋण रहेको पनि उनले उल्लेख गरेका छन् । आफ्नो नाममा एक करोड २५ लाख मूल्यको टोयोटा प्राडो कार र अम्बिकाको नाममा ४३ लाखको टाटा नेक्सन इभी रहेको पनि उनले खुलाएका छन् । यसैगरी, अन्य सम्पत्तिमा उनले एक करोड १५ लाखमा स्वयम्भु स्टार बैंकेट, पाँच लाखमा सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, एक करोडमा इजी लिंक रेमिट र तीन लाख रुपैयाँ मूल्यमा एपिए ह्याण्डीकाफ्टस खरिद गरेको पनि उनले उल्लेख गरेका छन् । यी सबै सम्पत्ति निजी कमाइ र व्यापारबाट जोडेको उनले जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ
मन्त्री श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणअनुसार काभ्रेपलाञ्चोकमा नौ लाख ९५ हजार मूल्यको संयुक्त नाममा रहेको जग्गा छ । त्यस्तै ११ तोला सुन, सय तोला चाँदी, एक सेट हिरा र एक सेट हिराको टप छ । यसैगरी, पारिश्रमिकबाट आर्जन गरेको एक करोड १५ लाख रुपैयाँ एनआइसी एसिया बैंक र ३७ लाख रुपैयाँ एभरेष्ट बैंकमा उनको मौज्दात छ । त्यस्तै, पारिश्रमिक र विवाहमा उपहारबापत श्रीमानको परिवारले दिएको एक लाख ८० हजार अमेरिकी डलर पनि उनले सम्पत्ति विवरणमा खुलाएकी छिन् । विभिन्न चारवटा कम्पनीमा उनको सेयर पनि छ । २० लाख मूल्यको गाडी र एक लाख ८५ हजार मूल्यको एउटा स्कुटर रहेको पनि उनले खुलाएकी छिन् ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ
मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा काठमाडौंमा दुईवटा घर छन् । त्यस्तै, १५ तोला सुन र ५० तोला चाँदी पनि छ । त्यस्तै, स्वआर्जन, पैतृक, वैवाहिक कमाइसहित विभिन्न बैंक तथा सहकारीमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ मौज्दात छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमा उनको एक करोड नौ लाख ८० हजार ५०९ रुपैयाँ मूल्यको सेयर छ । ५० लाख रुपैयाँ ऋण पनि उनले उल्लेख गरेका छन् । आठ लाख ५० हजारको ल्यान्ड क्रुजर ९टोयोटा०, दुई लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारमा विद्युतीय सवारी गरी कुल ३० लाख ७१ हजार रुपैयाँको सवारीसाधन खरिद गरेको उनले खुलाएका छन् । तीन लाख रुपैयाँका विभिन्न ब्रान्डेड घडी पनि उनले उल्लेख गरेका छन् ।

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी
मन्त्री साहले बुझाएको सम्पत्ति विवरणअनुसार उनी र अन्य विभिन्न व्यक्तिका नाममा सप्तरीमा नौवटा घर छन् । त्यसमा दुईवटा छानाको घर, एउटा निर्माणाधीन, चारवटा एकतले, एउटा १२ थान छानाको घरलगायत छन् । सप्तरीमै परिवारका विभिन्न सदस्यका नाममा ११ वटा जग्गा र १३ लाख ३८ हजार पाँच सयमा उनले तीनवटा अरू जग्गा खरिद गरेको विवरणबाट खुल्छ । त्यस्तै, पत्नी सावित्रीदेवी साह सुडीको ५६ तोला सुन र ६५० ग्राम चाँदी, छोरा सुमित कुमारको ३५ तोला सुन, बुहारी माधवीको २२ तोला सुन र ३३९ ग्राम चाँदी, अर्की बुहारी शालिनी देवीको १७ तोला सुन र २७० ग्राम चाँदी र अर्की बुहारी मञ्जु साहको २८ तोला सुन र १७० ग्राम चाँदी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । त्यस्तै, मन्त्री सुडीको विभिन्न बैंकमा ४१ लाख मौज्दात छ भने परिवारका सदस्यका नाममा चार लाख ९७ हजार छ । बुहारी मञ्जु साहका नाममा धनुषामा जानकी फन पार्कमा एक करोड ३५ लाख मूल्यबराबरको २५ प्रतिशत सेयर छ । उनले ८० लाख रुपैयाँ ऋण लिएको पनि देखिन्छ । पत्नी सावित्रीदेवी साहको नाममा एउटा गाडी पनि छ । १२ बोर बन्दुक पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा केही दिनअघि मात्र नियुक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानबाहेक सबैको सम्पत्ति विवरण अद्यावधिक गरिएको छ । पदमा बहाल भएको ६० दिन पुगिनसकेकाले उनीहरूले विवरण बुझाउने समय बाँकी नै छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया