‘यसरी ब्रेक गरियो पत्रकार हत्याको त्यो समाचार’ किशोर श्रेष्ठ

२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो,–'कृष्णलाई मार्यो नि'

१३ जेठ काठमाडौं । पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकको राज्यद्वारा नियोजित हत्या गरिएको २१ वर्ष पूरा भएको छ । तत्कालीन माओवादीले २०५२ सालमा सुरु गरेका जनयुद्धलाई समर्थन गरेर जनपक्षीय पत्रकारिता गरेकै कारण पक्राउ गरी वेपत्ता बनाएर हत्या गरिएका सेनको स्मृति दिवसका दिन जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सेन हत्याको समाचार बाहिर ल्याएको त्यो क्षणलाई यसरी स्मरण गरेका छन् :

२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो,–कृष्णलाई मार्यो नि’
‘को कृष्ण’ उसले डिटेलमा भन्न सकेन । संकटकालको बेला थियो–सेना, प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै ।
फोन आएपछि यस विषयमा छलफल गर्यौँ । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का (हाल सञ्चार मन्त्री रेखा शर्माका पति) र अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्को हप्ता सोमबार फेरि फोन आयो । स्रोतले भन्यो–तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार ।
हामीले भन्यौं, ‘किन डराउनु र को कृष्ण हो, डिटेलमा भन्नु पर्यो नि’
उसले भन्यो, ‘त्यो पत्रकार कृष्ण के त’ यसपछि भने मारिने ब्यक्ति कृष्ण सेन इच्छुक नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो,–बसेर केरकार गर्दागदै ढल्यो । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको, अलिअलि गर्दागदै ढल्यो । कृष्ण सेनको हत्या हुँदा त्यहाँ को–को थिए ‘यो प्रश्नमा स्रोतले भन्यो ‘तत्कालिन भ्याली डिआइजी, नगर प्रहरीका इन्चार्ज र ज्याङगो ज्यान भएका इन्स्पेक्टर कमल खाँड’ । उनीहरुले नै कुटेर मारेका हुन् ।
अनि लाशलाई के गरे त र ?
पिकअप गाडीमा हालेर लगे र विष्णुमतीतिर सेलाए । पोल्नुभन्दा पहिला इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए । स्रोतले यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यका उम्मेदवार । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए । समाचार लेख्ने बेलामा मैले तत्कालिन भ्याली डिआइजीलाई पनि पुस्ट्याइँको निम्ति सोधेँ । उनले भाइ, ‘लेख्नचाहिँ नलेख्नुहोस्, तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या’ भने । अर्को हप्ता फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधियो, आखिर सेनलाई कसरी मारियो ? स्रोतले भन्यो, तिनै डिआइजीले कृष्ण सेनलाई सोधे, ल भन् ‘तँ ठकुरी, म पनि ठकुरी, राजा त झन ठकुरी, तैँले के ठानेको छस् र के गर्न सक्छस् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन, कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।
सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न गुप्तचर उपप्रमुख श्रीपुरुष ढकाल (पछि लोकसेवा आयोग सदस्य) को नेतृत्वमा टिम बनाएको थियो । डा. हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने उसको रिपोर्ट छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने निचोड छ उक्त आयोगको । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्को प्रहार भयो ।
त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सिपीजेबाट चर्को दबाब आयो । पत्रकार गोपाल बुढाथोकीलाई पनि त्यही बेला सेनाले अपहरण गरेको थियो । मैले भागीभागी हिंड्नुपरेको थियो । तात्कालिन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई पक्राउ पनि गरियो । तत्कालिन सेनापति प्रज्वल समशेरसँग मेरो झगडै भयो, उनले तँलाई सुट गर्छुसम्म भने । पञ्चायतमा विमर्श साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो, त्यसपछि लगातार जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो ।

प्रतिक्रिया