यस्तो बन्यो चौतारा अस्पताल, प्रधानमन्त्री’प्रचण्ड’बाट आज उद्घाटन हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जिल्ला अस्पताल चौताराको नवनिर्मित भवनको आज समुद्घाटन गर्ने भएका छन् । चिनियाँ सहयोगमा निर्माण गरिएको सुविधान सम्पन्न भवनको दिउँसो प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जानकारी दिएको छ ।

१६ जेठ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला अस्पताल चौताराको नवनिर्मित भवनको आज समुद्घाटन गर्ने भएका छन् । चिनियाँ सहयोगमा निर्माण गरिएको सुविधान सम्पन्न भवनको दिउँसो प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जानकारी दिएको छ । दिउँसो १ बजे आयोजना गरिने विशेष कार्यक्रममा भवनको उद्घाटन हुने अस्पतालका अध्यक्ष टंक कार्कीले बताए । अस्पतालका अनुसार नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भवनको साँचो प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि प्रधानमन्त्रीले सो साँचो अस्पताल परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा, क्षेत्र नंबर १ का सांसद माधव सापकोटा, बागमती प्रदेशका मन्त्रीहरु, सांसदहरु, चौतारा साँचाचोकगढीका नगरप्रमुखलगायतको उपस्थिति रहने छ ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पका कारण अस्पताल भवनमा क्षति पुगेपछि चीन सरकारले नयाँ भवन निर्माण गरिदिएको हो । भवन निर्माण गर्न चीनले ६ करोड १० लाख आरएमबी अर्थात १ अर्ब १२ करोड ३६ लाख बराबरको सहयोग गरेको हो । अस्पताल भवन निर्माणको काम १८ महिनामा सम्पन्न भएको छ । तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ । नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहनेछन् । उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने छन् । 
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ मा अवस्थित जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएपछि सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ । कुनै समय सर्वत्र आलोचना खेपेको यो अस्पतालले केही बर्ष यता आफ्नो सेवा प्रवाहमा गरेको सुधारका कारण बागमती प्रदेशमै उत्कृष्ट अस्पताल घोषित भएको छ ।

तस्बिरहरु : प्रभात श्रेठ

प्रतिक्रिया