जलवायु परिवर्तनको असर र प्रभाव बारे संसदमा छलफल गरौँः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

२१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा आइतबार धारणा राख्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।
उनले यसको सम्बन्धमा संसदको भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने धारणा राखे ।
सरकारकै आयोजनामा नेपालमा जेठ ९ र १० गते भएको जलवायु परिवर्तन सम्बन्धी सम्वादका लागि आभार व्यक्त गरेका उनी नेपालमा क्लाइमेट पार्लीयामेन्ट मुभमेन्टमा सक्रिय छन् । जलवायु परिवर्तनले निम्त्याएको प्रभाव र असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा धारणा राख्दै आएका सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोका यसबाट परेको प्रभावबारेसमेत चर्चा गरे ।
सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

प्रतिक्रिया