कार्यान्वयनमा आए डेढ दशककै उत्कृष्ट बजेट र सफल अर्थमन्त्री : सापकोटा

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले बजेट सफल कार्यान्वयन गर्न सके डेढ दशककै उत्कृष्ट बजेट र सफल अर्थमन्त्री हुने बताएका छन् ।

२१ जेठ, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले बजेट सफल कार्यान्वयन गर्न सके डेढ दशककै उत्कृष्ट बजेट र सफल अर्थमन्त्री हुने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा आफ्नो धारणा राख्दै उनले बजेटले समाजवादी उद्देश्य सहित सोही बाटो समातेको उल्लेख गरे ।
उनले आर्थिक सुधार वर्षको घोषणा गर्नु तथा स्पष्ट दृष्टिकोण, लक्ष्यका साथ बजेट आउनु र आर्थिक सुधारका पाँच रणनीति तथा रुपान्तरणको पाँच क्षेत्र घोषणा हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे । “कृषिलाई आधार मानिएको छ, आइटीलाई प्राथमिकताको घोषणा भएको छ,” उनले भने, “हाम्रो बजेट परिचालनको क्षमता घटेको छ । यसमा पनि ध्यान दिनुपर्छ ।”
उनले सार्वजनिक खरिद ऐनको बारेमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने तथा बजेट क्यालेन्डर निर्माण गरेर लागु गर्नुपर्ने उल्लेख गरे । “क्यालेन्डर नबनाए असारे विकास पुर्नवृत्ति हुनेछ । काम भए पुरस्कृत, नभए दण्डित हुने क्यालेन्डर बनाउनुपर्छ,” उनले भने ।

प्रतिक्रिया