टि २० विश्वकपमा नेपाल आज नेदरल्यान्ड्स विरुद्ध भिड्दै

जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सवा नौ बजे खेल हुने छ ।

२२ जेठ, काठमाडौं । जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । नेपालले दोस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड्स भने पाँचौँपटक सहभागिता जनाउँदै छ। नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्यान्ड्सले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।
विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाली समय अनुसार सवा नौ बजे खेल हुने छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्यान्ड्सविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो अवसर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो।
त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी यस पटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन्। उनी १८ वर्ष भएका छन्।
विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिएका छन् ।
नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्।
नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ गते श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा हुने छ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ।
कूल २० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया