संसद पुगेका सिन्धुका विद्यार्थीको प्रतिक्रिया ‘तोकेको समय मै कुरा सक्नु पर्ने रहेछ’

संघीय संसद, प्रतिनिधि सभा वैठकको प्रत्यक्ष अवलोकन गर्न आएका सिन्धुपाल्चोकका विद्यार्थीले समय मै कुरा नसके बोल्न नपाइने कुराले छोएको प्रतिक्रिया दिएका छन् ।

२२ जेठ, काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा बैठकको प्रत्यक्ष अवलोकन गर्न आएका सिन्धुपाल्चोकका विद्यार्थीले समय मै कुरा नसके बोल्न नपाइने कुराले छोएको प्रतिक्रिया दिएका छन् । ‘सयममा निकै कडाई हुँदो रहेछ’ जाल्पा माविका विद्यार्थीद्वय मनिस नेपाल र प्रसंसा भुजेलले सुनाए ‘दिएको समयमा आफ्नो कुरा नराखे त सभामुखले माइकै बन्द गर्दिने हुँदो रैछ ।’  अर्का विद्यार्थी सुप्रीम तिमल्सिनाले सांसद सापकोटाले विद्यालयमा संसदबारे कक्षा लिएको स्मरण गर्दै आफैंले देख्दा खुसी लागेको बताए । 

लक्ष्मीदेवी माविका प्रधानाध्यापक हिरालाल न्यौपानेले संसद बारे कक्षामा पढाउने गरेपनि अवलोकन गर्न पाउँदा बास्तविकता थाहा पाएको बताए । ‘हाम्रो क्षेत्रका सांसदले समय निकाले सहजीकरण गरिदिनु भयो’ उनले भने । जाल्पादेवीका प्रधानाध्यापक कृष्ण पराजुलीले आफ्नालागि संसदको प्रत्यक्ष अवलोकन ऐतिहासिक भएको प्रतिक्रिया दिए । ‘प्रत्यक्ष अवलोकन गर्न ठूलो अवसर बन्यो’ उनले भने । बलेफी गाउँपालिका २ का जनप्रतिनिधि यमबहादुर पौडेलले समाचारमा हेरेको ठाउँमा आफैं आउन पाउँदाको खुसी साटे ।

सिन्धुपाल्चोक क्षेत्र नं १ का श्री जालपादेवी माध्यमिक  विद्यालय बिन्जेल र श्री लक्ष्मीदेवी माध्यमिक विद्यालय कल्लेरीका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति परिवार,  अभिभावक, स्थानीय जनप्रतिनिधीसहित ८७ जनाले मंगलबार संघीय संसद प्रतिनिधि सभाको प्रत्यक्ष अवलोकन गरे । सांसद माधव सापकोटा ‘सुबोध’ को समन्वयमा विहानै सिन्धुपाल्चोकबाट संसद भवन आइपुगेका उनीहरुले अवलोकनसँगै सभामुख र क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद सापकोटासँग फोटो खिचाए । नबुझेका विषयमा जानकारी लिए ।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सापकोटाले मंगलबारको सुन्य समयमा आफू निर्वाचित भएपछि  विद्यालयमा सांसद, संसदमा विद्यार्थी कार्यक्रम थालनी गरेको जानकारी गराएको थिए । उनले संसद अवलोकन गर्न आएका सबैलाई स्वागत गरे । उनले उपल्लो तहमा नीति निर्माणका लागि हुने बहसले युवाहरुले सिक्ने विश्वास व्यक्त गरे । संसद बैठक सञ्चालन नभएको अवस्थामा निर्वाचन क्षेत्रका विद्यालयमा पुगेर संसद, संसदीय प्रक्रिया, सांसदको भूमिकालगायतका विषयमा छलफल गर्ने गरेका उनले विद्यालयका विद्यार्थीलाई संसद अवलोकन गराउन सहजिकरण गर्ने गरेको सुनाए । आफ्नो कार्यकालभरी यो कार्य जारी राख्ने बताएका उनले यसलाई ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ नाम दिएका छन् ।

प्रतिक्रिया