

२४ जेठ, सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिकाकाबाट छानिएका आएका महिलाहरुलाई प्रतिवेदन लेखन तथा उद्घोषण तालिम प्रदान गरिएको छ । २१ गते सोमबारदेखि बुधबारसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका सात वटै वडाबाट ४१ जना महिलाहरु सहभागी भएका थिए । गाउँपालिकाको आर्थिक सहयोग एवं पालिकास्तरिय महिला सञ्जालको समन्वयमा आशा नेपालले तालिमको आयोजना गरेको हो ।
तालिममा उपस्थित बागमती प्रदेश सभा सदस्य अमृता नेपालले नेतृत्वको विकासका लागि आफ्ना कुरा निर्धक्क भएर राख्न सुझाव दिएकी थिइन् । सांसद नेपालले आफ्ना कुरा गाउँ समाजमा र ठाउँमा राख्न सकेमात्र सुनुवाई हुने भएकोले बोल्ने र लेख्ने कलामा मेहनत गर्न सुझाव दिइन् ।
गाउँपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नं ३ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए । उनले तीन दिने तालिम पनि प्रभावकारी रहेको पाइएको बताउँदै आगामी बर्षको बजेट तथा योजना निर्माणका क्रममा यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न पहल गर्ने बताए । महिलाहरुको लागि नेतृत्व विकासमा मद्दत पुग्ने कार्यक्रमहरु सबै स्थानीय तह तथा गाउँमा हुनुपर्ने तालिम आयोजक आशा नेपालकी अध्यक्ष अम्बिका नेपालले बताइन । उनले कार्यक्रमको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । यो महिला दिदीबहिनीका लागि सिक्ने सिकाउने सानो प्रयास भएको उनको भनाई थियो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकाइका लागि तीन दिन पर्याप्त नभएको भन्दै पाँच दिनदेखि एक साता सम्मको तालिमका लागि गाउँपालिकालाई आग्रह गरेका थिए । सञ्चारकर्मी गिता चिमोरियाले सहभागीहरुलाई प्रशिक्षण सहजीकरण गरेकी थिइन् ।

