प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

२८ जेठ, काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उनको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।
भेटमा दुबै प्रधानमन्त्रीबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा दुबै देशका प्रधानमन्त्रीले विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । उनी आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया