संसदमा सापकोटाले भने, ‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि…’

प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले सिन्धुपाल्चोकले बर्षातमा भोग्नु परेको बाढी पहिरो पीडाबारे दीप श्रेष्ठले गाएको गीतसँग तुलना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

३० जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले सिन्धुपाल्चोकले बर्षातमा भोग्नु परेको बाढी पहिरो पीडाबारे दीप श्रेष्ठले गाएको गीतसँग तुलना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा सांसद सापकोटाले मनसुन सुरु भयो भन्ने वित्तिकै गायक श्रेष्ठको आवाजमा रहेको ‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि…’ भन्ने गीत जस्तै हुने बताएका हुन् । संसदमा उनले भने ‘सभामुख महोदय, म सिन्धुपाल्चोकबाट सम्मानीत संसदमा प्रतिनिधित्व गर्छु । मनसुन सुरु भयो भन्ने वित्तिकै गायक दीप श्रेष्ठको गीत हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि भन्ने गीत जस्तै सम्झना दिलाउँछ।’ उनले सिन्धुपाल्चोकलाई दुई पटकसम्म संकटग्रस्तक्षेत्र घोषणा गरिएपनि ढुक्क हुनेगरी काम हुन नसकेको बताए । सिन्धुपाल्चोकले दशक यता बेहोर्नु परेको बाढी र पहिरो सम्झदा मात्रै पनि आङै सिरिङ्ग हुनेगरी तर्साउने उनको भनाई थियो । सांसद सापकोटाले राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण एनडिआरएमए र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाएर यसका बारेमा उचित पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सापकोटाको सम्बोधनको पूर्ण पाठ  : ‘सभामुख महोदय, म सिन्धुपाल्चोकबाट सम्मानीत संसदमा प्रतिनिधित्व गर्छु । मनसुन सुरु भयो भन्ने वित्तिकै गायक दीप श्रेष्ठको गीत ‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि भन्ने गीत जस्तै सम्झना दिलाउँछ । दशक यता सिन्धुपाल्चोकले बेहोरेको बाढी पहिरोको तथ्यांक हेर्ने हो भने हाम्रो आङै सिरिङ्ग हुनेगरीकन तर्साउँछ । ७१ सालमा जुरेको पहिरो र भोटेकोशी क्षेत्रको बाढी पहिरो, ७७ मा लिदि र नागपुजेको पहिरो, ७८ मा भीमाथांका, मेलम्ची र इन्द्रावती क्षेत्रको बाढी पहिरो एकपटक हामीले संझना मात्रै गर्यौं भने सबैलाई अत्यास तुल्याउँदछ । भूकम्पले हल्लाएर थिलथिलो बनाएको सिन्धुपाल्चोकलाई दुईपटक संकटग्रस्त क्षेत्र घोषणा गरियो । तर अहिलेसम्म ढुक्क हुने गरि त्यस क्षेत्रमा काम गरिएन । त्यसैले म फेरि एक पटक नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण एनडिआरएमए र सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाएर यसका बारेमा उचित पहल गरियोस् , धन्यवाद ।’

प्रतिक्रिया