जोखिम न्यूनीकरण गर्न समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरोलगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिन आवश्यक रहेको बताएकी छन् ।

५ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरोलगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिन आवश्यक रहेको बताएकी छन् । उनले सो को व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरुलाई आग्रह समेत गरेकी छन् ।
मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी) को बैठक आव्हान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेकी हुन् । उनले आफ्ना सबै संरचनाहरु तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्न सबै रोकारवालाहरुलाई आग्रह गरीन् ।
‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ’– उनले भनिन् – ‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’
विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चारसम्बद्ध निकाय तथा संस्थाहरुले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुबै तरीकाले सोच्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपतकालीन उद्धार समूहहरु बनाएर अघि बढ्नुपर्ने बताइन् ।
बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरुले बाढी पहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए । त्यस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विपद्जन्य जोखिमबाट बच्न सचेतनाका कार्यक्रम र सूचनाहरु नियमित रुपमा प्रवाह गरिरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया