पशुपति मन्दिरको भेटी चोर्ने पाँचै जना पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

७ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
भेटीगणना कक्षबाट भेटी चोरी गर्ने क्रममा पक्राउ परेको कोषका नायव सुब्बा नवराज ढोडारीसहित पाँच जना अदालतको आदेशपछि थुनामा गएका हुन् । जिल्ला न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले थुनछेक बहसपछि पाँच जनालाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं। ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरे तथा बाजा बजाउने कर्मचारीहरू कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा वडा नं. ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १२ का २९ वर्षीय सञ्जय कपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं. ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । कटुवालका अनुसार सबै अभियुक्तविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरिएको छ । जेठ ७ गते सिसिटिभी निगरानीमा भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका उनीहरूमाथि महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धानपछि जेठ ३२ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि सोही दिन मुद्दा दायर भएको थियो ।

एकैदिनमा ५५ हजार चोरी
सरकारी वकील कार्यालयले अभियुक्त अनिल परियारले विगत ५ महिनादेखि भेटी गणना कार्यमा लागेको र आफूले दैनिक ५५ हजार रुपैयाँसम्म भेटी लुकाएको बयान दिएका छन् । सञ्जय कपालीले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ३२ हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको र कुमार दमाईले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ५० हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको भनी बयान गरेको दिएका छन ।
सरकारी वकील कार्यालयले अनिल परियारले जम्मा ८२ लाख ५० हजार रुपैयाँ सञ्जय कपालीले जम्मा ५७ लाख ६० हजार र कुमार दमाईले जम्मा ९० लाख गरी दुई करोड तीस लाख दश हजार डाँका चोरी गरेको विगो देखिएको दावी गरेको छ । कुमार दमाईको साथबाट बरामद भएको २७ हजार ५०० रुपैयाँ, अनिल परियारको साथबाट बरामद भएको जम्मा ३४ हजार ७५५ नेपाली रुपैयाँ र १९ हजार १२० भारतीय रुपैयाँको विवरण अभियोगपत्रमा उल्लेख गरेको छ ।
नायव सुब्बा नवराज ढोडारीको लकरबाट ५ हजार २६५ र डेराकोठाबाट नगद ६ लाख ७ हजार ५०० सहित ७ लाख ५ हजार ६ सय १२ रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई फिर्ता दिलाइ बरामद हुन नसकेको दुई करोड २३ लाख ४ हजार ३८१ रुपैयाँ भराउन पनि अभियोगपत्रमा मागदावी गरिएको छ ।

प्रतिक्रिया