९ असार, सिन्धुपाल्चोक । रामकृष्ण थापा – जिल्लाको १२ स्थानीय तहमध्ये राजनीतिको केन्द्रमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आइतबार आर्थिक वर्ष ०८१/०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्यो । १६ औँ नगरसभामा उपमेयर सीता थापाले लामो भाषण गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सभामा भएका सबै जनप्रतिनिधि, कर्मचारी, पत्रकार र प्रतिनिधिमूलक मानिसले चुपचाप थापाले वाचन गरेको दस्तावेज सुनिरहे ।
बिगतभन्दा नगरसभा शान्त र आसावादी देखिन्थ्यो । किनकि, सबै जनप्रतिनिधि नीति तथा कार्यक्रमबाट सन्तुष्ट र एकमना एकतासहित सहभागी भएजस्तो देखिन्थे । नगरप्रमुख कृष्णप्रसाद सापकोटा प्रशन्न मुद्रामा थिए । सायद, उनको स्वच्छता, पारदर्शिता र केही गरौँ भन्ने हुट्हुटीमा सहयात्री उपप्रमुख, वडाध्यक्षहरु, सबै सदस्य र कर्मचारी एउटै डुंगा चढ्न सहमत थिए ।
नीति तथा कार्यक्रमलाई मसिन्याएर ठोस गर्न सभालाई २६ गतेसम्म स्थगन गरेका सापकोटाले सम्बोधनका क्रममा भने, मेरो (हाम्रो) उद्देश्य समृद्ध नगर बनाउनुबाहेक अर्को छैन । ‘पहिलो वर्ष अनुभव थिएन केही कमजोरी भयो । दोस्रो वर्ष सुधार गरियो । तेस्रो कार्यकाल सबै अनुभवका आधारमा सोचविचार गरेर नीति तथा कार्यक्रम ल्याएका छौँ,’ उनले दाबी गरे । मेयर सापकोटा जिल्लाको हकमा सबैभन्दा पाका र राजनीतिक संघर्षले खारिएका स्थानीय तहका प्रमुख हुन् । १० वर्षे जनयुद्धकालमा पनि उनलाई हक्की र प्रष्ट नेताको रुपमा चिन्ने गरिन्थ्यो । चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वडालाई दामासायी एक-एक करोड विनियोजन गरिएको उनले बताए ।
‘वडाध्यक्षज्यूहरुले नगरमा बजेट राख्नपर्छ भन्नुभयो । यसको अर्थ के हो भने मैले सबै बजेट खुला किताब झैँ पारदर्शी बनाउने कोशिस गरेको छु,’ उनले भने । नीति, कार्यक्रम र बजेटको परम्परावादी प्रवृत्तिलाई भत्काएर जनतामुखी बनाउने कोसिस गरिएको उनले प्रष्ट्याए । धेरै मिहिनेत गरेर पारदर्शीता अपनाएर समृद्धि हासिल गर्ने अभियानमा दिनरात खट्दा पनि बेरुजु रकमलाई भ्रष्टाचार गर्यो भनेर प्रचारबाजी भएकोमा उनले आपत्ति जनाए ।
उनले अगाडि थपे, ‘नगरको प्रगति र समृद्धिबाहेक मेरो कुनै स्वार्थ छैन । इतिहासमा जनताले मेरो मूल्यांकन अवश्य गर्नेछन् ।’ नगरसभाले एक अर्ब २४ करोड २० लाख ४७ हजार आय र एक अर्ब २६ करोड ११ लाख ६१ हजार रुपैयाँको अनुमानित वार्षिक आयव्यय छलफलका लागि पेश गरेको छ । एक करोड ९१ लाख १४ हजार रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको नगरले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई आधार खम्बा मानेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जुगल खबरबाट