प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ पारित

संघीय संसदको प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ।

११ असार, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। अर्थमन्त्री पुनले गत १५ जेठमा संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा गत २९ जेठदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल भएको थियो।
विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्ततु गरिएका थिए । ति प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्।

प्रतिक्रिया