प्रधानमन्त्रीबाट ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ लोकार्पण, फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तकको आज बालुवाटारमा लोकार्पण गरेका छन् ।

१४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।
‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तकको आज बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताएका हुन् ।
“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”
जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत बोहोराको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरू निधन भएको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । उनै बोहोरा पछि माओवादी जनयुद्धमा सहभागी भएका थिए ।
पुस्तक विमोचन समारोहमा निर्वतमा सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, एमाले नेता अमृत बोहोरा, नेताहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, केशव नेपाल, सरल सहयात्री, अमृता नेपाललगायत एमाले, माओवादी र एकिकृत समाजवादी आवद्ध दलका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया