

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र अपारदर्शी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा उनले नयाँ गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सम्झौतामा आशंका रहेको बताए ।
‘उहाँहरूले अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । आज यतिबेला यो संसदमा हामी छलफल गरिरहँदासम्म समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौताहरू भए त्यो आधिकारिक रुपमा बाहिर आएको छैन,’ उनले भने । सामाजिक सञ्जालमा के कस्ता विषयमा सहमति भएको भनेर भनिएको उल्लेख गर्दै उनले त्यसलाई आधिकारिक मान्न नसकिने बताए । सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने बताए ।
एमाले सांसदहरूले प्रधानमन्त्रीले नै कांग्रेससँग संवाद अगाडि बढाएपछि वैकल्पिक सरकार गठनको विषय अगाडि बढेको तर्क गरेका छन् । यसमा सत्यता नरहेको दाबी गर्दै सांसद सापकोटाले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा गएर फर्किएपछि प्रधानमन्त्रीले कसैलाई कुनै प्रकारको प्रस्ताव गर्नुभएको छैन । नपत्याए तीन जना शीर्ष नेता बसे हुन्छ । बूढानीलकण्ठलाई सोधे हुन्छ ।’बरु नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी–इस्टेटको विषय अगाडि बढ्न सक्ने भनेर नयाँ गठबन्धन बनेको हुन सक्ने उनले आशंका गरे ।
बेचन झाले बेचैन बनाएर भागदौडमा चलेकाहरूले माओवादीलाई नैतिकताको पाठ नसिकाउन उनको चेतावनी छ । उनले भने ‘तपाईंहरू पहिला गिरीबन्धु टी–इस्टेटको कालो धब्बा कसरी पखाल्ने, बेचन झाबाट बेचैन भएको चैन पहिला फर्काउनुस् अनि हामी कुरा गरौंला ।’

