माओवादीले खड्ग ओलीलाई विश्वासको मत नदिने, सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।

६ साउन, काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । सोपार्टीले संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ । प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको उनले जानकारी दिए । बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र संसदमा सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया