प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई संसदमा दुई तिहाइ मत, पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाएका छन् ।

६ साउन, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको एक सातामै उनले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा दुई तिहाइ मत प्राप्त भएको हो ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद मध्ये उनको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । एक जना सदस्य भने तटस्थ बसे ।
सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने सङ्ख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिए ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिए । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ बसे ।
असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया